छाँया सरकार बनाउने कांग्रेसको तयारी, अनुभवीलाई सरकारको जिम्मेवारी दिइने

Congres sansadiya dal

काठमाडौं । अहिले नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाईको सरकार छ । तर, सरकारप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस रुष्ट छ । त्यही भएर नेपाली कांग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले छायाँ सरकार बनाउने निर्णय गरेको हो । कांग्रेसले सरकारमा बसेर काम गरेको अनुभव संगालेका नेतालाई छायाँ सरकारको जिम्मेवारी दिने तयारी गरेको छ । कांग्रेसले एक साताभित्रै छायाँ सरकार गठन गरिसक्ने योजना बनाएको छ ।

‘सरकारका सबै कामको निगरानी गर्नेगरी एक सातामै छायाँ सरकार गठन हुन्छ’, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘छायाँ सरकारले सरकारका हरेक कामको निगरानी दैनिक गर्छ ।’

अघिल्लो साता मात्रै शंखमूलको एक पार्टी प्यालेसमा कांग्रेस पदाधिकारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवातिर हेर्दै सभापतिको छायाँ सरकारले काम गर्न नसकेको बताएका थिए ।

कांग्रेसले छायाँ सरकारका लागि मन्त्रालय रोजेर नाम पेश गर्न संसदहरुलाई आग्रहसमेत गरेको छ । एक जना सांसदले तीन वटा मन्त्रालय रोजेर नाम दिन सक्नेछन् । पौडेलको भनाइ थियो, ‘प्रतिपक्षको भूमिका कमजोर भयो कि भन्ने प्रश्न उठेको छ । अब हाम्रो सभापतिजीले संसदीय दलमा छायाँ सरकार बनाएको, त्यो सरकारले काम गर्न सकेन ।’

कांग्रेस संसदीय दलको बैठकले संसदमा प्रतिप्रश्न गर्न नदिए अवरोध गर्ने चेतावनी दिएको छ । आइतबार सार्वजनिक महत्वका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेपछि प्रश्न गर्न नदिएपछि कांग्रेस सांसद आक्रोशित भएका थिए ।

आइबारजस्तै बुधबारको बैठकमा समेत प्रतिपक्षी दलका सांसदलाई प्रश्न गर्न नदिए अवरोध गर्ने निर्णय कांग्रेस बैठकले गरेको छ ।

 

प्रतिकृया दिनुहोस