३७ टोलीको धाँ बाजाले दिनभर बाजामय बन्यो भक्तपुर 

Baja 1

भक्तपुर । शनिबार दिनभर भक्तपुर नगर क्षेत्रभित्र बाजागाजा घन्किए । विना चाडपर्व दिनभर नगर क्षेत्रमा बाजागाजा घन्किदा बाजागाजाले गुन्जायमान बन्यो ।

भक्तपुर नगरपालिकाले नगरव्यापी धाँ बाजा प्रतियोगिता गरेर सानो सहर भक्तपुरलाई शनिबार दिनभर बाजामय बनाएको थियो । प्रतियोगितामा सहभागी ३७ टोलीलाई पालैपालो बाजा बजाएर नगर परिक्रमा गराइयो । यसरी बाजागाजासहित बजार परिक्रमा गराउँदा पनि नगर गुञ्जयमान बनेको थियो ।

सो धाँ बाजा प्रतियोगितामा नास हेमा बाजा खल (समूह) प्रथम, नित्यनाथ बाजा खल द्धितीय, एभरेष्ट इंग्लिस स्कुलको टोली तृतीय र द राइजिङ इंग्लिस स्कुलको कल्चर ग्रुप चौथौं भएका थिए ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई ३० हजार नगद, धाँ बाजा एक थान, भूछ्या एक जोडी, शि छ्या १ जोडी (यी सवै धाँं बाजामा बजाइने बाद्य बाधकहरुको नाम हो), द्वितीय हुने टोलीलाई २५ हजार नगद, धाँ बाजा एक थान, भू छ्या १ जोडी र तृतीय टोलीलाई २० हजार नगदसहित धाँ बाजा एक थान र शि छ्या १ जोडी पुरस्कार वितरण गरिएको थियो ।

सान्त्वना हुने दुई टोलीलाई १० हजार प्रतिटोली नगद र धाँ बाजा एक थान प्रदान गरिएको थियो । साथै कार्यक्रममा सहभागी सबै टोलीलाई धाँ बाजा एक थान उपलब्ध गराइएको थियो भने खाजा खर्चस्वरुप प्रति टोली २ हजार नगद प्रदान गरिएको थियो । उनीहरुलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले पुरस्कार वितरण गरेका थिए ।

भक्तपुरको साँस्कृतिक विधाहरुको संरक्षण गर्नुका साथै नागरिकहरुमा रहेको शीप उजागर गर्न प्रतियोगिताको आयोजना गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति बताउँछन् । प्रत्येक वर्ष यस्ता प्रतियोगिता गर्दै आएको नगरपालिकाले गत वर्ष भने बाँसुरी बाजा प्रतियोगिता गरेको थियो ।

यसरी गरियो प्रतियोगिता
कुनै पनि प्रतियोगिताका नियम पक्कै पनि हुन्छ । प्रतियोगितामा सहभागी टोली नगरको पश्चिम क्षेत्रमा रहेको टेखापुखुमा बिहानै बाजागाजासहित जम्मा भएका थिए ।

प्रतियोगितामा सहभागी टोलीहरुमध्ये एकएक टोलीलाई छुटाछुटै रुपमा नगरपालिकाद्धारा निर्धारितरुटमा बाजा बजाउँदै घुम्न लगाइएको थियो । एउटा टोली र अर्काे टोलीबीच ५० मिटरको फरकमा नगर परिक्रमा गराउन लगाइएको थियो ।

नगर परिक्रमापछि सबै टोली नगरको पूर्वमा रहेको दतात्रय पुगे । यो बीचमा मूल्यांकनका लागि ठाउँठाउँमा मूल्यांकन टोली राखिउको थियो । मुख्य मूल्यांकन टोली भने दतात्रयमा थिए । दतात्रयको मञ्चमा पनि सबै प्रतिस्पर्धीलाई पालैपालो बाजा बजाउन लगाइएको थियो । बजार परिक्रमाको क्रममा धेरै संख्यामा रहे पनि दतात्रयको मञ्चमा भने एउटा टोलीबाट चार जनालाई मात्रै बजाउन लगाइएको थियो ।

मुल्यांकनको यस्तो थियो आधार
प्रतिस्पर्धीहरुलाई बजार परिक्रमाको क्रमलाई एक सय पूर्णांकमा २० निर्धारण गरिएको थियो । बोल र तालमा ३०, प्रष्टतामा २०, भेषभूषामा १०, हाउभाउमा १०, अनुशासनमा ५ र समयको परिपालनामा ५ गरिएको थियो ।

मूल्यांकन टोलीका संयोजक थिए काठमाडौं विश्वविद्यालय संगीत विषयका उपप्राध्यापक विष्णुबहादुर मानन्धर । माननधरले नै सो प्रतियोगितामा विजयी हुनेहरुको नाम घोषणा गरेका थिए ।

के हो धाँं बाजा ?
धाँ बाजा नौ बाजाअन्तर्गत पर्दछ । धाँ र धाँचा गरी धाँ दुई किसिमको हुन्छ धाँ आकारमा ठूलो हुन्छ भने धाँचा धाँको झण्डै आधा आकारको मात्र हुन्छ । धाँ रूखको बीचभागको सिधा जाने रूखको गेडाबाट बनाइएको हुन्छ ।

गेडाको टुक्रालाई भित्र खोक्रो बनाई छालाले मोेडी तान कसेर आवश्यक मसला हाली बनाइन्छ । धाँ दुईतिर बज्छ, एकतिर लठीले बजाइन्छ अर्कोतिर हातले गरिन्छ । जसलाई नास भनिन्छ भने लठीले बजाउने तिरलाई हाय्मा अथवा मंका भनिन्छ ।

नेवारी भाषामा कुनै पनि सानो चिजलाई पछाडि चा आउने गरी उच्चारण गरिन्छ, जस्तै ठूलो लठीलाई नेवारीमा कछी र सानोलाई कछीचा भने जस्तै ठूलोलाई धाँ र सानोलाई धाँचा भनिएको बुझिन्छ ।

आजकल धाँ काठको गेडाबाहेक तामा र पितलबाट पनि बनाउने गरेको पाइन्छ । प्राचीन समयदेखि नेपाली संस्कृतिमा धाँ बाजाको विशेष स्थान रहिआएको छ । नेपाली समाजमा धाँ बाजाको प्रचलन कहिले र कहाँबाट आएको भन्ने विषयमा भने ठोस लिखित प्रमाण नभएको तर नेवार समुदायमा मल्लकालमा धाँ बाजाको प्रचलन बढी भएको सुनिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...