बलिउड चर्चित कलाकार कादर खानको क्यानडामा मृत्यु

Kadar khan

काठमाडौं।बलिउडका दिग्गज कलाकार कादर खानको मृत्यु भएको छ ।

उनी ८१ वर्षका थिए । कादर खानले क्यानडास्थित एक अस्पतालमा अन्तिम सास फेरे । उनी केही वर्षदेखि छोरा र बुहारीसँग क्यानडामा बस्दै आएका थिए । यसबारे हिन्दुस्तान टाइम्सले बताएको छ ।

सास फेर्न गाह्रो भएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई बाइपेप भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको बोली बन्द हुनुका साथै निमोनियाको लक्षण पनि देखिएको थियो ।

उनी प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी (पिएसपी) बाट ग्रसित थिए । यो  एक असामान्य मस्तिष्क विकार हो जसले शरिरको गति, हिँड्नका लागि हुनुपर्ने सन्तुलन, निल्ने, हेर्ने, मनोदशा र व्यवहारका साथै सोचलाई प्रभावित गर्छ । मस्तिष्कका तन्तु नष्ट भएका कारण यस्तो हुन्छ ।

गत शुक्रबार अमिताभ बच्चनले कादर खानको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ट्वीट गरेका थिए । अफगानिस्तानको काबुलमा अक्टोबर २२ तारिखमा जन्मिएका कादर खान निकै चर्चित कलाकार हुन् ।

उनको खुन भरी मांग, विवी हो तो एसी, बोल राधा बोल, मे खिलाडी तु अनारी, दुल्हे राजा र हसिना मान जायजी फिल्म चर्चित रहे । उनी सन् २०१५ मा रिलिज भएको ‘हो गया  दिमागका दही’ मा अन्तिम पटक देखिएका थिए ।

आइतबार अबेर राती उनको मृत्युको अफवाह फैलिएको थियो । यसबारे उनका छोरा सरफराजले बुवाको उपचार भइरहेको र जिवित भएको स्पष्टिकरण दिएका थिए । यसका साथै उनले अफवाह नफैलाउन पनि आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस