श्रीसान्तलाई पछि पार्दै दिपिका (सीमर) बनिन् 'बिग बोस १२' को विजेता

Dipika kakar wins salman khan’s show sreesanth is first runner up

काठमाडौं । बिग बोसको १२ औँ संस्करणको विजेता अभिनेत्री दीपिका कक्कड बनेकी छन् । भारतीय टेलिभिजन कलर्समा प्रशारण भएको अभिनेता सलमान खान सञ्चालक रहेको बिग बोसको १२ औँ संस्करणको उपाधि टेलिभिजन अभिनेत्री दीपिकाले जितेकी हुन् ।

आइतबार राति भएको फिनालीमा निकै कडा प्रतिस्पर्धा भएको थियो । दीपिकाले भारतीय क्रिकेट टिमका पूर्व सदस्य रहेका एस श्रीसान्तलाई हराएर उपाधि जितेकी हुन् । विजेता बनेकी दीपिकाले ३० लाख भारतीय रुपैयाँ र ट्रफी जितेकी छन् । तेस्रो स्थानमा दीपक ठाकुर रहे, उनले २० लाख भारतीय रुपैयाँ लिएर शोबाट बाहिरिने निर्णय गरे ।

कलर्स टेलिभिजनमा प्रशारण भएको धारावाहिक ‘ससुराल सिमर का’ बाट लोकप्रिय भएकी दीपिकाले श्रीसान्तलाई हराउँदै यो फेरि पुष्टि गरेकी छन् कि बिग बोसको उपाधि होडमा टेलिभिजन धाराबाहिकमा काम गरेका अभिनेत्रीहरुको दाबेदारी बलियो हुन्छ ।

दीपिका भन्दा पहिले शिल्पा शिन्दे, उर्वशी ढोलकिया, जूही परमार र श्वेता तिवारीले विजेता बनेर बिग बोसको घर छोडेका थिए । दीपिकालाई उनका श्रीमान शोएब इब्राहिमले बिग बोसको घरमा छोडेका थिए ।

दीपिका ‘ससुराल सिमर का’ का अभिनेता इब्राहिमसँग सन् २०१५ देखि प्रेम सम्बन्धमा थिइन् र उनीहरुले सन् २०१८ को फेब्रुअरीमा विवाह गरेका हुन् । दीपिकाले इब्राहिमसँगको विवाहका लागि इस्लाम धर्म अपनाएकी छन् ।

दीपिकाले सन् २००९ मा रौनक सेमसनसँग विवाह गरेकी थिइन् । तर उनीहरुको विवाह लामो समय टिकेन । सुरुमा बिग बोसको घरमा आफ्नो स्थान बनाउन मुश्किलमा परेकी दीपिका र श्रीसान्तबिच पछिल्लो समय राम्रो मित्रता भएको थियो ।

फिनालीमा पुग्ने दीपिका एक मात्रै महिला थिइन् ।

प्रतिकृया दिनुहोस