बलिउड 'किङ' सलमान खानसँग जोडिएका ६ महिला

Salman aishwarya epaixrgdcu 640x405

बलिउडका सबैभन्दा चर्चित खान सलमान खान अहिले पनि अविवाहित छन् । उनको नाम सधैं कुनै न कुनै महिलासँग जोडिरहन्छन् । कहिले कुनै मोडलसँग त कहिले नायिकासँग । आजकाल सलमान रोमानियाकी मोडल एवं कार्यक्रम प्रस्तोता युलिया भन्तुरलाई डेट गरिरहेको बताइन्छ । यद्यपी, सलमानको जीवनमा यसअघि पनि थुप्रै सम्बन्ध स्थापित भए जसले गन्तव्य भने पाउन सकेनन् । २७ डिसेम्बरमा उनको ५३ औं जन्मदिनको उपलक्ष्यमा उनको जीवनमा आएका महिलाबारे चर्चा गरौं ।

संगीता बिजलानीः

सलमानको जीवनमा जति पनि महिला आए तीमध्ये संगीता बिजलानीसँग मात्र विवाहको कुरा चल्यो । संगीतासँग सलमानको विवाहको कार्डसमेत छापिएको बताइन्छ । सन् १९९४ मा हुने भनिएको यो विवाहको तयारीका बीच संगीतालाई सलमानको अफेयरबारे थाहा भएपछि दुबैले भिन्न बाटो रोजेको भारतीय समाचार एजेन्सीले बताउने गरेका छन् । यी दुईबीच अहिलेसम्म पनि साथीको सम्बन्ध भने कायमै छ ।

 

सोमी अलीः

सलमान सोमी अलीसँगको सम्बन्धमा पनि निकै सिरियस छन् भन्ने खबर आएको थियो । सोमीले १९ वर्षको उमेरमा बलिउडमा डेब्यू गरेकी थिइन् । भारतीय मिडियाका अनुसार सोमीको सुन्दरतामा सलमान फिदा त थिए नै उनी सोमीमाथि अधिकारसमेत जमाउँथे । दुबैले करिब ६ वर्ष डेट गरेपछि भिन्न बाटो रोजे । त्यसपछि सोमी सबैकुरा छोडेर पाकिस्तान फिर्ता भइन् ।

ऐश्वर्या रायः

त्यसपछि सलमान खान विश्व सुन्दरी ऐश्वर्या रायसँग जोडियो । फिल्म ‘हम दिल दे चुके सनम’ बाट उनीहरुबीच प्रेम सम्बन्ध रह्यो । यद्यपी, सलमानले ऐश्वर्यामाथि अत्यधिक अधिकार जमाउने बानीले सम्बन्धमा समस्या निम्त्यायो र दुबैको सम्बन्ध टुट्यो । ऐश्वर्याले सलमानमाथि हात उठाएको समेत आरोप लगाइन् । ब्रेकअपपछि सलमान ऐश्वर्याको घरमा समेत गएको जसका कारण नायिकाले पुलिसलाई समेत बोलाउनु परेको बताइन्छ । तर, सलमान अहिले पनि यो कुरालाई ठाडो अस्विकार गर्छन् ।

स्नेहा उल्लाल:

फिल्म ‘लकी–नो टाइम फर लभ’ सन् २००५ मा जब रिलिज भयो तब सलमानले उनलाई कास्ट गर्नुको पछाडि भारतीय मिडियाले निकै अचम्मको कारण बताए । स्नेशाको अनुहार ऐश्वर्यासँग मिल्दोजुल्दो भएकाले फिल्मका साथै जीवनको हिस्सासमेत बनाउने कोसिस गरेको बताइयो । तर फिल्मका साथै उनीहरुको सम्बन्ध पनि केही दिनसम्म मात्र टिक्न सक्यो ।

कट्रिना कैफः

सिरियस सम्बन्धको कुरा गर्नुपर्दा ऐश्वर्यापछि सलमान खान कट्रिनाको विषयमा पनि निकै गम्भीर भए । उनले कट्रिनालाई बलिउडमा स्थापित हुन सघाउनुका साथै उनलाई परिवारको सदस्यजस्तो व्यवहार गरे । खान परिवारलाई पनि कट्रिना निकै मनपर्दथ्यो । तर सलमान खानको त्यही पुरानो बानीले उनीहरुको सम्बन्ध पनि टुट्यो । सलमान कट्रिनामाथि विभिन्न प्रकारको रोक लगाउन थालेका कारण उनी आजित भएर ब्रेकअप दिएको बताइन्छ ।

जरिन खानः

जसरी सलमानले ऐश्वर्यासँग मिल्दोजुल्दो अनुहारलाई बलिउडमा भित्र्याए त्यसरी नै कट्रिनासँग मिल्दोजुल्दो अनुहार भएको जरिन खानलाई पनि बलिउड गर्ल बनाउन जुटे । उनले जरिनलाई आफ्नो प्रोडक्शन हाउसको फिल्म ‘वीर’ मा मुख्य भुमिका दिइयो । तर स्नेहा उल्लालसँग जे भयो सलमान र जरिनको सम्बन्ध पनि टुक्रियो । न त फिल्म चल्यो न नै सम्बन्ध अघि बढ्न सक्यो ।

प्रतिकृया दिनुहोस