अनेरास्ववियू (क्रान्तिकारी) पनि सरकारको विरोधमा

Anemasa

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले सार्वजनिक यातायातमा गरिएको दश प्रतिशत भाडा वृद्धि तत्काल फिर्ता लिन माग गर्दै बिहिबार यातायात व्यवस्था विभागको कार्यालयमा धर्ना दिएको छ ।

अनेरास्ववियू (क्रान्तिकारी)ले मिन भवनस्थित विभागको कार्यालयमा बिहिबार दिउँसो एक घण्टा प्रर्दशनसहितको धर्ना दिँदै यातायातमा गरिएको १० प्रतिशत भाडा वृद्धि तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको हो ।

यातायातमा भाडा वृद्धि गर्ने सरकारको पछिल्लो निर्णय खारेज गर्न माग गर्दै विभागको कार्यालयमा एक घण्टे धर्नासहित विरोध प्रर्दशन गरिएको संगठनका सचिव पवन कार्कीले जानकारी दिए ।

त्यस अवसरमा अनेरास्ववियू (क्रान्तिकारी)ले यातायातमा गरिएको भाडा वृद्धि फिर्ता नलिए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसहितको ज्ञापन पत्र पनि विभागका महानिर्देशक लावन्यकुमार ढकाललाई बुझाएको छ ।

दसैंको मुखैमा यातायातमा १० प्रतिशत भाडा वृद्धि गरेकोमा सरकारको चर्को आलोचना हुँदै आएको छ । अनेरास्ववियू (क्रान्तिकारी)ले पनि मूल्य वृद्धि गर्ने सरकारको सो निर्णय फिर्ता नभए आफूहरु कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

प्रतिकृया दिनुहोस