आजबाट नयाँ भाडादर कायम, १० प्रतीशत भाडामा बृद्धि

Line bus 1 768x377

काठमाडौं । यातायात व्यावसायीले आजबाट नयाँ भाडादर कायम गरेका छन् ।

दशैंको मुखैमा आएर व्यवसायीले १० प्रतिशत भाडादर बढाएका हुन् । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो ।

हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए ।

हिजो साँझ भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर बढाउने सहमति भएको छ ।

समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र मंसिर २९ सम्म भाडा समायोजन गर्ने सहमति पनि भएको छ ।

वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खाताबाट अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको छ ।

सिण्डिकेट कायम गरेको भन्दै सरकारले २ सय ४५ यातायात समितिको बैंक खाता रोक्का गरेको थियो । हिजोको वार्तामा यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति पनि भएको छ ।

प्रतिकृया दिनुहोस