काठमाडौंमा अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शन

General assembly

काठमाडौं । राजधानीमा अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शनी तथा सम्मेलन सुरु भएको छ ।
सम्मेलनमा स्वदेशी तथा विदेशी गरी दुई दर्जन हस्तकलाको स्टल राखिएको छ । नेपाल, भारत, चीन, कुवेत, ओमन, काजकिस्तान, इरान, मलेसिया, श्रीलंकला, इन्डोनेसिया, थाइल्याण्ड लगायतका देशहरुले आ—आफ्नो हस्तकलाका उत्पादनहरुको स्टल राखेका छन् ।

विश्व कला परिषद् एसिया प्रशान्त क्षेत्रको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको हो । नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनको उद्घाटन प्रदेश न. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गरे । सम्मेलनमा मुख्यमन्त्री पौडेलले नेपालमा निर्यातको सबैभन्दा बढी सम्भावना हस्ताकलाको रहेकोले निर्यात अझ बढाउनुपर्ने बताए ।

हस्तकलाको विकास र प्रवद्र्धनमा सरकारको ठुलो लगानीको जरुरी रहेको नेपाली व्यवसायीहरुको भनाइ छ । सम्मेलनमा विभिन्न देशका कला प्रदर्शनी तथा जीवन्त कला प्रदर्शनी गरिएको छ। सम्मेलनमा सांस्कृतिक सम्पदाहरुको अवलोकन भ्रमण, सांस्कृतिक नगरी घोषणा गरिनेछ। नेपालले ललितपुर महानगरपालिकालाई सांस्कृतिक कला नगरी घोषणा गर्ने भएको छ।

सम्मेलनमा स्वदेशी तथा विदेशी कला, सिल्प तथा प्रविधिको आदान प्रदान भएको र नेपाली हस्तकलाको प्रचारप्रसार, पर्यटकीय स्थलको प्रवद्र्धन, विभिन्न देशका कलाकारको हस्तकलाको प्रदर्शनी भएको नेपाल हस्तकला महासंघका अध्यक्ष एवं विश्व कला परिषद् एसिया प्रसान्त क्षेत्रका उपाध्यक्ष धर्मराज शाक्यले जानकारी दिए।

सम्मेलनमा विभिन्न ४५ देशका एकसय भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहेको छ । सम्मेलन दुई दिनसम्म हुनेछ ।हस्तकला महासंघले आयोजना गरेको सम्मेलनमा काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रम्ख चिरिबाबु महर्जन लगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस