‘नेपाल आइडलः विदेशिएका नेपाली पनि प्रतिष्पर्धामा, बीस हजार सहभागी

Nepal idal 2jpg

काठमाडौं । अन्तर्राष्ट्रिय गायन रियालिटी शो ‘पप आइडल’को नेपाली भर्सन ‘नेपाल आइडल’ले विश्वभर छरिएर बसेका लाखौं नेपाली संगीत प्रेमीको मन जित्न सफल भएको आयोजकले जनाएका छन्।

गत वर्ष अत्यधिक चर्चा कमाउन सफल आइडलको माग यसवर्ष पनि उत्तिकै मात्रामा भएको आयोजक एपिवान टेलिभिजनले जनाएको छ। आयोजकका अनुसार यस पटक देशभित्रबाट मात्र नभई बिदेशमा बस्ने नेपालीहरु समेत प्रतिस्पर्धीका रुपमा नेपाल आइडलको प्रतिस्पर्धामा खरो रुपमा उत्रिएका छन।

‘नेपालमा यो मंच नेपाली युवाहरुका लागि सुनौलो अवसर प्रमाणित भयो। टेलिभिजनबाट टाढिईसकेका नेपाली दर्शकलाई समेत नेपाल आइडलले पुनः नेपाली टेलिभिजन नजिक ल्यायो। वास्तवमा यसले नेपाली टेलिभिजनमा नयाँ अवसरहरुको ढोका खोलिदियो’ कार्यक्रमका प्रोजेक्टहेड, निर्देशक तथा एपिवान टेलिभिजनका अप्रेशन निर्देशक सुरेश पौडेलले भने।

‘गायन संभावना बोकेका युवा प्रतिभाहरुलाई देशका कुनाकाप्चाबाट खोजेर ल्याएर उनीहरुका प्रतिभा मात्र नभै व्यक्तित्वसमेत प्रस्फुटन गराई सामान्य अवस्थाबाट विशिष्ट अवस्थामा पुर्याईन्जेलसम्म उनीहरुमा आएको परिवर्तन वास्तवमै हेर्न लायक हुने गर्दछ।

’ पौडेलले पुनः थपे। नेपाल आइडल स्वदेश तथा विदेशमा रहेका दर्शकले समेत यस रुचाएको आयोजको भनाइ छ। युट्यूबमा हालिएका आइडलका समाग्रीहरु लाखौ पटक हेरिने भएकाले यस कार्यक्रमको महत्व बढेको बताइएको छ। पौडेलका अनुसार नेपाल आइडलको पहिलो सिजनमा १५ हजार जनाले प्रतिस्पर्धीका रुपमा सहभागीता जनाएका थिए।

नेपाल आइडलको दोस्रो सिजनको अडिसन राउण्ड भर्खरै सकिएको छ। दोस्रो सिजनमा स्वदेश देखि विदेशसम्मका नेपाली युवा सहित २० हजार जनाले प्रतिस्पर्धीका रुपमा सहभागीता जनाएका छन। धरान, हेटौडा, बिरगंज, भैरहवा, धनगढी, पोखरा र काठमाडौमा अडिसन भएको थियो।

सन् २००१ मा बेलायती टेलिभिजन प्रोड्युसर साइमन फुलरले ‘पप आइडल’का रूपमा शुरु गरिएको सांगीतको यो महासंग्राम बाँकी देशमा सम्बन्धित देशको नामसँग आइडल जोडेर आउने गर्दछ। संसारमा सर्वाधिक हेरिने र उत्तिकै मनोरञ्जन दिन सफल कार्यक्रमको रुपमा स्थापित आइडल सिरिज आज १५० देशहरुमा लोकप्रिय छ।

यतिबेला देशैभरबाट एकत्रित भएका प्रतिस्पर्धीहरुबीच अडिशनपछिका प्रतिस्पर्धाहरु धमाधम चलिरहेका छन्, जहाँ सबै प्रतिस्पर्धीहरु आफुलाई निखार्नका लागि साधनारत छन्। गला र कला दुवैको सङ्गम नेपाल आइडलका अझै रोमान्चक एपिसोडहरु आउन बाँकी छन। यसै हप्ताको बिहिबार र शुक्रबार एपीवानले अडिसन राउण्डपछिको गाला राउण्ड प्रसारण गर्दैछ।

जुन अझ रोमान्चक हुने आयोजकको अनुमान छ।‘नेपाल आइडल हाम्रो लागि भगवान बनेर आईदिएको छ’ पोखराकी सपना गुरुङले बताइन्। आफ्नो क्षमता देखाउने र भविष्य निर्माण गर्ने अन्तराष्ट्रिय माध्यम नेपाल आइडल बनिसकेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस