प्रदेश नं.१ मा राधाकृष्ण रथयात्रामा सार्वजनिक बिदा

Rathayatra o

विराटनगर । श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट विराटनगरमा निकालिँदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ ।

विगत वर्ष झैँ यस वर्ष पनि भव्य र धुमधामका साथ निकालिने रथयात्रा व्यवस्थापन समितिद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

रथ यात्रा भव्यतापूर्ण सम्पन्न गर्न विभिन्न १९ वटा उपसमिति निर्माण गरेको समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए । अध्यक्ष ओझाका अनुसार विराटनगरस्थित राधाकृष्ण मन्दिरबाट यही भदौ १८ गते निकालिने रथयात्राले शहरको विभिन्न भाग हुँदै सात किलोमिटर परिक्रमा गरी पुनः मन्दिर परिसरमा आएर रथयात्रा विसर्जन हुनेछ ।

रथयात्रा सञ्चालनका लागि मुख्य मार्गको ४३ स्थानमा विश्रामस्थल तय गरिएको छ । रथयात्रा समारोह समितिका अनुसार भदौ १८ गते निकालिने रथयात्रामा रथ प्यागोडा शैलीको बनाइएको छ । रथको लम्बाई २२ फिट, चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट लम्बाईका दायाँबायाँ पट्टि फैलिएका लठ्ठा डोरीको माध्यमबाट रथ तानिने व्यवस्था रहेको छ ।

त्यसैगरी रथले तय गर्ने मार्गमा हेलिकप्टरबाट पुष्पगुच्छा वर्षाइनेछ । रथयात्राको अवलोकन गर्न नेपाल र भारतकाका लाखौँ भक्तजन विराटनगर आउने गर्दछन् । प्रदेश सरकार निर्माणसँगै रथ यात्राको उद्घाटन प्रदेशका मुख्यमन्त्री शेरधन राईले गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ । प्रदेश नं १ सरकारले रथयात्राका दिन प्रदेश १ मा सार्वजनिक बिदाको घोषणा गरेको छ ।

प्रतिकृया दिनुहोस