योगमायालाई मदन पुरस्कार, जगदम्बा श्री पुरस्कार मानन्धरलाई

Madan puraskar

काठमाडौं । नीलम कार्की निहारिकाको योगमाया उपन्यासले यस वर्षको मदन पुरस्कार पाएको छ । सोमबार बसेको मदन पुरस्कार गुठीको बैठकले योगमाया उपन्यासलाई प्रदान गर्ने निर्णय गरेको हो ।

२०७४ सालमा नेपालमा प्रकाशित भएका २ सय ५३ पुस्तकमध्येबाट गुठीले मदन पुरस्कारका लागि ८ पुस्तकको नाम सार्वजनिक गरेको थियो ।

ती मध्ये उत्कृष्ट ८ मा ध्रुवसत्य परियारको कैरन, सरस्वती प्रतीक्षाको नथिया, तीर्थ गुरुङको पाठशाला, यज्ञशको भुइँया, नयनराज पाण्डेको यार, नीलम कार्की निहारिकाको योगमाया, राज माङलाकको लुम्बिनी गाउँ र मोहन वैद्यको हिमाली दर्शन परेका थिए । त्यसमध्येबाट मदन पुरस्कारका लागि योगमाया छनोट भएको हो ।

२०७४ को जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ । उनी नेपाली बाल साहित्यको विकास, विस्तार र प्रवर्द्धनमा पाँच दशकदेखि सक्रिय थिए ।

२०७४ सालमा प्रकाशित पुस्तकहरुमध्येबाट मदन पुरस्कारका लागि योगमाया छनोट भएको गुठीका अध्यक्ष कुन्द दीक्षितद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । मदन पुरस्कार र जगदम्बा श्री दुबै पुरस्कारको राशी जनही २ लाख रुपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस