निर्मला हत्याकाण्ड : प्रहरीको चासो किन असामान्य व्यक्तिमा ?

Nirmala hatya

काठमाडौ‌ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा प्रहरी सुरुदेखि नै सामाजिक प्रतिष्ठा र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूको पछि लागेको छ ।

प्रहरीले भनेजस्तै भोलि दिलीपसिंह विष्ट नै दोषी ठहरिन सक्छन्, तर यसअघि पनि प्रहरीले यस्तै दुईजनालाई नियन्त्रणमा लिएको थियो ।

घटनाको तेस्रो दिन अर्थात् १३ साउनमा डिएसपी अंगुर जिसीको नेतृत्वमा काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को टोली पुगेको थियो। त्यसअघि नै ११ साउनमा कैलालीका जीवन घर्तीमगर र कञ्चनपुरका दीपक नेगी पक्राउ परेका थिए ।

डिएसपी जिसीका अनुसार दीपक गम्भीर प्रकृतिका यौनरोगी थिए भने जीवनको मानसिक सन्तुलन असामान्य थियो । जीवनले त निर्मलाको हत्या आफूले नै गरेको दाबी गरेका थिए ।

उनले प्रहरीलाई बयान दिएका थिए, ‘मैले खुकुरीले हानेर निर्मलाको हत्या गरेको हुँ ।’ जब कि पोस्टमार्टम प्रतिवेदनअनुसार निर्मलाको हत्या घाँटी निमोठेर भएको थियो ।

तर, यस्तो फितलो अनुुसन्धानका आधारमा गृहमन्त्री रामबहादुर थापा बादलले १७ साउनमा संसद्मा बोले, ‘बलात्कार र हत्यामा संलग्न दुईजनालाई पक्राउ गरिएको छ । पीडितलाई न्याय दिलाउन सरकारले कुनै कसर बाँकी राख्नेछैन ।’ तर, गृहमन्त्रीले संसद्मा बोल्दा–नबोल्दै जीवन र दीपक हिरासतबाट छुटिसकेका थिए ।

घटनाका २५ दिनपछि ४ भदौमा प्रहरीले भीमदत्त नगरपालिका–१९ का ४२ वर्षे दिलीपसिंह विष्टलाई आरोपीका रूपमा सार्वजनिक ग¥यो । तर, यी विष्ट पनि मानसिक अवस्था असामान्य भएका परे ।

आफ्नै भिनाजु हत्याको अभियोगमा उनी ०६५ मा जेल परेका थिए र गत वर्ष गणतन्त्र दिवसका तत्कालीन प्रजिअको सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएर जेलबाट छुटेका थिए । प्रहरीले विष्ट नै दोषी भएको दाबी गरिरहेको छ भने स्थानीयले अस्वीकार गर्दै आन्दोलन चर्काए ।

दिलीपका पिता आइतबार निर्मलाको परिवारलाई भेट्न पुगे । ‘उनले रुँदै मेरो छोराको कुनै गल्ती छैन भने । हामीलाई पनि घटनामा ऊ संलग्न छ भन्नेमा विश्वास छैन,’ निर्मलाका पिता यज्ञराज पन्तले भने ।

८२ वर्षे कमलसिंह विष्टका अनुसार ८ कक्षामा पढ्दा नै दिलीप गाँजा–चरेसको लतमा परेका थिए । छिमेकी कर्ण विष्ट त यसपटक मात्र होइन, अघिल्लोपटक भिनाजुको हत्यामा पनि दिलीप परिबन्दमा परेको हुन सक्ने अनुमान गर्छन् ।

हरेक समय गाँजा, चरेस र रक्सीको नसामा हुन्थे दिलीप । बाटोमा मोटर, मोटरसाइकल र साइकल देखे परैदेखि छेउ लागेर उभिन्थे । पिता कमलसिंहका अनुसार दिलीपलाई पक्राउ गर्नु अघिल्लो दिन ३ भदौमा नासपाती किन्ने बहानामा प्रहरीका दुईजना सुराकी घरमा आएका थिए ।

जग्गा खोज्दै हिँडेको पनि भन्दै थिए । अनि घरपछाडि सुकाउन राखिएको दिलीपको सर्टको केही भाग च्यातेर लगेका थिए । दिलीपलाई पक्राउ गरेपछि ४ भदौमा प्रहरी फेरि घटनास्थल पुग्यो । त्यहाँ दिलीपको सर्टको कपडाको टुक्रा र कन्डम फेला परेको थियो । ‘यसबीच धेरै पानी प¥यो, खोलामा बाढी आयो ।

तर, सर्टको टुक्रा र कन्डममा कुनै हिलोमैलो थिएन,’ निर्मलाका पिता यज्ञराज भन्छन्। सिआइबीका डिएसपी जिसी भने दिलीपको यौन आसक्ति उत्कर्षमा रहेको कुरा बयानका क्रममा पाएको बताउँछन्।

‘अलि असामान्य देखिन्छन्, तर उनको बयान असामान्य छैन । र जतिपटक सोध्दा पनि नबिराई उही कुरा दोहो¥याउँछन् । फरेन्सिक र डिएनए स्याम्पल परीक्षणको अन्तिम नतिजा आएपछि धेरै कुरा स्पष्ट होला ।

तर, अहिलेसम्मको घटनाक्रम हेर्दा उनी घटनाको केन्द्रमा छन् । बाहिर उनीबारे जे टिप्पणी भए पनि कम उमेरकासँग यौनसम्पर्क गर्न आफूलाई रुचि भएको उनले बयानमा बताएका छन्,’ उनले भने । दिलीप अविवाहित हुन् ।

सरकारले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा बेग्लै उच्चस्तरीय छानबिन समिति पनि गठन गरेको छ । स्थानीयको आशंकाको केन्द्रमा रहेका रोशनी र बबितालाई पनि प्रहरीले हिरासतमा लिएको छ ।

बम दिदीबहिनीका पिता दीपेन्द्रबहादुर बम जनविकास माविका शिक्षक र आमा दुहुँ गाउँपालिका–३ को सचिवका रूपमा दार्चुलामै बस्दै आएका छन् । दुवैले आफ्ना छोरीहरूलाई जबर्जस्ती फसाउन खोजेको बताइरहेका छन् ।

‘भोलि हाम्रा छोरीमाथि अर्को दुर्घटना भयो भने को जिम्मेवार हुन्छ ? भिडको दबाबमा हाम्रा निर्दोष छोरीहरूलाई गिरफ्तार गरिएको छ,’ उनीहरूको गुनासो छ । छोरी खोज्न जाँदा घरभित्रै पस्न नदिएका कारण पनि पन्त परिवारको आशंका बबितामाथि बढी छ ।

‘पहिलेका एसपी डिल्लीराज विष्टले कहिले बाहिरै सामूहिक बलात्कार गरेर त्यहाँ लगेर फालिएको हो भने त कहिले त्यहीँ एकजनाले बलात्कार गरेको हो भने,’ निर्मलाका पिता यज्ञराज भन्छन्, ‘अनि मलाई दिलीप नै मुख्य अपराधी हो, किटानी जाहेरी देऊ भनेर दबाब पनि दिए । प्रहरीको भूमिका जहिल्यै शंकास्पद रह्या े।’

बबिताकै घरमा घटना भएर निर्मलालाई पछि बाहिर लगेर फ्याँकिएको पन्त परिवारको आशंका छ ।

तर, घरअगाडिकै छिमेकी देवकी भट्टका अनुसार उनी १० साउनको साँझ ७ बजेतिर बबिताको घरमा पुगेकी थिइन् । अम्बा खान गएकी उनकी नाबालक छोरी रोशनीसँग टिभी हेर्दै नाच्दै बसेकी थिइन् । उनी पुगेको केहीबेरमा बबिता पनि आइपुगिन्।

निर्मलाको शवको छेउ केही अम्बा पनि फेला परेको थियो, जुन बबिताको घरको थियो । पछि बम परिवारले अम्बाको बोटै काटिदियो । यसकारण पनि उनीहरूप्रति पीडित परिवार र स्थानीयको आशंका छ । (नयाँ पत्रिका)

प्रतिकृया दिनुहोस