अझैं सुल्झिएन विजेश्वरी छात्रावास विवाद, संघको रबैया उस्तै

Nndswo news 3

काठमाडौं । लामो समयदेखि विवादमा तानिएको विजेश्वरी छात्राबासको समस्या अझैं सुल्झिएको छैन, बरु भित्रभित्रै भुषको आगोझैं सल्किरहेको छ । यसलाई समाधान गर्नेतर्फ सरोकारवालाको ध्यान गएको छैन ।

२०१९ मा दलित आन्दोलनका अगुवा सहर्षनाथ कपालीको अगुवाईमा दलित विद्यार्थीका लागि दलित छात्रावास बनाउने माग गरिएको थियो । त्यसबेला तत्काली राजा महेन्द्रले छात्राबास सञ्चालनका लागि २५ हजार रुपैयाँ दिएका थिए ।

यसलाई नेपालको दलित आन्दोलनले उपलब्धिको रुपमा लिँदै आएको छ । तर, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले जालसाझी ढंगले आफ्नो कब्जामा पारेपछि विवादको घेरामा तानिँदै आएको थियो ।

विजेश्वरी छात्राबास पछिल्लो समय दलित आन्दोलनको रमिता बनेको छ । सरकारी पैसाले खरिद गरिएको करोडौको जग्गा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ नामक गैरसरकारी संस्थाको कब्जामा पर्दा सरकार पनि उत्तिकै रमिते बनेको छ ।

यसको पछिल्लो उदाहरणको विजेश्वरी नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले नियुक्त गरेको नयाँ वार्डेन र पुराना वार्डेन बीचको दिनहुँको झगडा ।

बुधबार एक जना युवाले ‘नेपाल दलित समाज कल्याण संघले सबैको समस्यालाई मध्यनजर गर्दै निःशुल्क छात्रबास विगत लामो समयदेखि संचालन गर्दै आएको हो’ भनी सामाजिक सञ्जालमा पोष्ट गरे । उनले एसइइ दिएर काठमाडौं आएर आर्थिक अवस्था कमजोर भएर बस्न समस्या परेकाको लागि नयाँ भर्ना खुलेको उल्लेख गरेका थिए ।

उनले सो सुचनामा नेपाल दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोकचन्द्र विश्वास विके, वार्डेन दिनेश विके, कृष्ण भुषाल र कृष्ण विकेको सम्पर्क नम्बर पनि राखेका थिए ।

बिहीबार सो छात्राबासभित्र दुवै पक्षबीच झडप भयो । प्रहरी आएर दुबै पक्षलाई नियन्त्रण लियो । आइन्दा झडप नगर्ने शर्तमा दुबै पक्षलाई छाडिदियो । यसअघि पनि पुराना वार्डेन राम नेपाली र असार पहिलो हप्ता नियुक्त दिनेश विश्वकर्माको समुहबीच बारम्बार झडप हुँदै आएको छ ।

रबैया कायमै
तर, दलित अधिकारकर्मीहरुले जालसाझी पूर्ण ढंगले सो जग्गा संघले आफ्नो हातमा पारेको बताएका छन् । यसलाई उनीहरुले विजेश्वरी छात्रावास कब्जा गर्ने असफल दुस्प्रयास भनेका छन् ।

विभिन्न पार्टी आवद्ध दलित भात्रृ संघ संस्थाका नेताहरुको पनि उत्तिकै चासो दिएका छन् । उनीहरुले गृहमन्त्री रामबहादुर थापालाई भेटी ज्ञापन पत्र पनि दिएका छन् । गृह मन्त्रालयले छानविन समिति पनि बनाएको छ । तर, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले भने आफ्नो रबैया कायम नै राखेको छ ।

पछिल्लो समयमा विद्यार्थीबीच फाटो ल्याउने काम संघले गरिरहेको छ । विभिन्न राजनीतिक दलका भात्रृसंगठन र अन्य दलित गैरसरकारी संस्थाहरु पनि सो विजेश्वरी छात्रावास जग्गामा संघले कब्जा गर्न नपाउने बताइरहेका बेला संघले उल्टै समस्या चर्काउने प्रयास गरिरहेको आरोप लागेको छ ।

तर, संघका अध्यक्ष त्रिलोकचन्द्र विश्वास विकले भने दलित नागरिक समाज, दलित संघ संस्थासँग बसेर समस्या समाधान गर्ने प्रयास जारी राखेको बताउँछन् । ‘दलित भात्रृ संगठनसँग पटकपटक प्रयास गर्दा छलफल हुन सकेको छैन’ उनले भने, ‘संघले बदनियत ढंगले काम गर्न चाहेको छैन, जतिसक्दो मिलाउने प्रयासमा छौं ।’

यस्तो छ छात्राबासको इतिहास
सोही रकमबाट काठमाडौं काठमाडौं महानगरपालिका वडा नं. १५, विजयश्वरीमा ३ रोपनी ७ आना जग्गा किनिएको थियो । त्यो बेला दलितका संघ संस्था दर्ता नभएका कारण आपसी सल्लाहमा सहर्षनाथ कपालीकै नाममा जग्गा किनिएको थियो । त्यसैका आधारमा २०१९ सालमै सो छात्राबासको भवनको पनि शिलान्यास गरिएको थियो ।

तर, बजेटको अभाव भएपछि लामो समयसम्म सो छात्राबास बन्न नसकेपछि २०२८ मा हिरालाल विश्वकर्माको अध्यक्षतामा छात्रावास निर्माण समिति बनाइएको थियो । सो समितिको पहलमा तत्कालिन सरकारले भवन निर्माणका लागि २५ लाख रुपैयाँ दिएको थियो ।

त्यही पैसाबाट भवन बनेपछि २०३३ मा विद्यार्थी बस्ने १६ कोठा, डाइनिङ हल, बैठक हलसहित एक तले भवन बनेको थियो । त्यही पैसाले वार्डेन बस्ने छुट्टै चार कोठे भवन पनि बनाइएको थियो । सो भवन बनेपछि तत्कालीन सरकारले प्रत्येक वर्ष १० हजार रुयैयाँका दरले छात्राबास सञ्चालनार्थ सहयोग गर्दै आएको थियो ।

प्रतिकृया दिनुहोस