हुक्का बारले बिगारे केटाकेटी, २७३ जना प्रहरी नियन्त्रणमा

Hukka bar

बुटवल । प्रहरीले बुटवलका दुई वटा हुक्का बारमा छापा मारेर झण्डै २७३ किशोर किशोरीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरु १२–१३ वर्षका स्कुल पढ्नेदेखि १७–१८ वर्षका कलेज पढ्ने किशोर किशोरी छन् ।

स्थानीयको उजुरीका आधारमा प्रहरीले मैत्रीपथस्थित बिच फोर्ड क्याफे र मिलनचोकको ग्यालेक्सी क्याफेमा छापा मारेको हो । फोर्ड क्याफेमा १२३ किशोरी र ८४ जना किशोर तथा ग्यालेक्सीमा ३१ किशोरी र २५ किशोर पक्राउ परेका छन् ।

 उनीहरूलाई केही घण्टा इलाका प्रहरी कार्यालय बुटवलमा राखे पश्चात अभिभावकलाई बोलाएर छोडिएको छ । मदिरा, धुमपान र हुक्का सेवन गरेर होहल्ला गरेको अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ग्यालेक्सी क्याफेका संचालक अर्जुन अर्याल र निलकण्ठ अधिकारी तथा बिच फोर्डका संचालक विजय थापा र अरुण गुरुङलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई सार्वजनिक मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

विशेषगरी शुक्रबार र शनिबार क्याफेमा किशोर किशोरीको जमघट र होहल्लाका कारण समाजमा नकारात्मक असर परेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

 

प्रतिकृया दिनुहोस