१३ वर्षीय बालकको हातमा स्कुल बसको स्टेरिङ !

School bus

 बारा । बारामा १३ वर्षीय बालकले स्कूल बस चलाएको भेटेपछि ट्राफिक प्रहरीले बसका चालकसहित ति बालकलाई नियन्त्रणमा लिएको छ । सडकमा गम्भीर लापरबाही गर्ने स्कुल बससहित त्यसका चालकलाई पक्राउ गरेको हो ।

पथलैयास्थित एन्जल निम्न माध्यमिक विद्यालयको बस शुक्रबार बिहान करिब १० बजे वीरगन्ज–पथलैया सडकखण्डको जितपुर सिमरा–१ स्थित सडकमा बालकले चलाएको भेटिएपछि नियन्त्रणमा लिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

बा४ख ३९६१ नम्बरको उक्त बस चलाउने जितपुर सिमरा–१ दशधुरेका १३ वर्षीय बालक सिलिप पासवान र बसचालक महोत्तरी खयरमार घर भई हाल अमलेखगन्ज बस्दै आएका ३६ वर्षीय लोकमान मोक्तानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

पासवान उक्त बसको सहयोगीका रूपमा कार्यरत रहेको र शुक्रबार चालक मोक्तानले विद्यार्थी छोडेर फर्कने क्रममा पासवानलाई बस चलाउन दिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सडकमा लापरबाही गर्ने चालक र बालक दुवैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरामा आवश्यक कारबाहीका लागि पठाइएको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

शुक्रबार प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयामा घटनाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी बज्राचार्यले बालकले मुख्य राजमार्गमा स्कुल बस चलाएको देख्दा आफूहरू अचम्मित भएको बताइन् । ‘सडकमा सवारी लिएर मानिसले कतिसम्म लापरबाही गर्न सक्छन् भन्ने यो घटनाले उजागर गरेको छ,’ एसपी बज्राचार्यले भनिन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक विकास बमको टोलीले स्कुल बस बच्चाले चलाएको देखेपछि नियन्त्रणमा लिएको थियो। ‘म बकुलियाबाट एउटा कार्यक्रम सकेर फर्कंदै थिएँ । स्कुल बस बच्चाले चलाएको देखेपछि गाडी रोकेर हेर्दा चालक अर्को सिटमा थिए,’ प्रहरी निरीक्षक बमले भने ।

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा राखेको छ ।

प्रतिकृया दिनुहोस