११ वर्षिय छोरालाई दागबत्ती दिन मलेसियाबाटै सिधै आर्यघाट

Nishan ko antyasti

काठमाडौं । अपहरणमा परी हत्या गरिएका एघार बषीय बालक निसान खड्काको बिहिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। निसानका बुवा गणेश खड्का मलेसियाबाट फर्किएपछि बिहीबार अन्येष्टि गरिएको हो।

आजै मलेसियाबाट फर्किएका गणेश त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैं आर्यघाट पुगेका थिए।  

काठमाडौँ महानगरपालिका वडा नं ३२ काँडाघारी टाउनप्लानिङबाट गत आइतबार भएको अपहरण र हत्यापछि शिक्षण अस्पतालबाट परीक्षण गरी राखिएको निशानको शव आफन्तले आर्यघाट ल्याएर दाहसंस्कारका लागि तयारी अवस्थामा राखेको थियो ।

गत फागुनमा ४० दिनको बिदामा नेपाल आएर गत चैत १३ गते मलेसिया फर्किंदा छोरालाई खेलौना, कपडादेखि धेरै सामान ल्याइदिउँला भनेर गएका बाबु त्यही छोराको शव हेर्नुपर्दाको पीडा देख्नेलाई पनि निकै कठिन भएको थियो ।

रित्तो हातमा परिवार भेट्ने उत्साहलाई मार्दै एउटै मात्र छोराको सतगद्का लागि आर्यघाट पुगेका गणेशले छोराको अनुहार एक झलक हेरेपछि दोहो-याएर फेरि हेर्न सकेनन् । उनी भक्कानिएर रोएपछि आमा चमेली, हजुरबुबा जयबहादुर, मामा, आफन्त, छिमेकी, स्कूलका शिक्षक, शिक्षिकाको शोक र रुवावासीको दृश्य देख्ने आर्यघाट पुगेका जो कोहीको आँसु त्यसैगरी रसाए ।

गत आइतबार बालकको आमा चमेलीको खाजा घरमा विगत तीन वर्षदेखि नियमितरुपमा खाजा खाँदै आएका सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय अजय तामाङ र नुवाकोट समरीका २४ वर्षीय गोपाल तामाङले अपहरण गरी बालकको विभत्स हत्या गरेका थिए ।

निशानको अपहरण गरी मध्यपुरथिमि नगरपालिका– ७ नगदेश बुद्ध विहारसँगै रहेको श्याम लवटको आफ्नै डेरामा लगेर रु ४० लाख फिरौती मागेपछि बालक अपहरण भएको रहस्य खुलेको थियो ।

अपहरणपछि तामाङद्वयले बालकलाई धेरै पीडा दिएर विभत्स तरिकाले हत्या गरेकोे प्रहरीको अनुसन्धान र अस्पतालको शव परीक्षणबाट खुलेको छ । शव परीक्षणअनुसार बालकको घाँटीको श्वासनलीको भित्रसम्म रुमाल कोचिएको पाइएको प्रहरीले जानकारी दिएको छ ।

अपहरणमा संलग्न अजय र गोपालको भने गत सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ सिपाडोलस्थित घ्याम्पेडाँडा जाने बाटो नजिकै जंगलमा प्रहरीको इन्काउन्टरमा मृत्यु भएको थियो । घटनाका बारेमा सरकारले छानबिन समिति बनाएर छानबिन गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस