दिर्घकालिन फोहर व्यवस्थापनका लागि महानगरले बनायो अध्ययन समिति

Kabadi kawadi fohor junyard

काठमाडौं ।  उपत्यकाबाट दैनिक निस्कने फोहरको दिर्घकालिन व्यवस्थापनका लागि अध्ययन गर्न काठमाडौं महानगरपालिकाले सहसचिव इश्वरचन्द्र मरहठ्ठाको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको छ ।

लामो समयदेखि काठमाडौँ उपत्यकाको प्रमुख समस्याका रुपमा रहेको फोहर व्यवस्थापनका लागि कामपाले उक्त समिति गठन गरेको हो । समितिको सदस्यमा ललितपुर महानगरसहित उपत्यका सवै नगर समेटिने गरी प्रमुख प्रशासकीय अधिकृत पनि छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाको सक्रियतामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुबीच बसेको बैठकले समिति गठन गरेको हो ।

समितिलाई ३ वटा जिम्मेबारी दिइएको छ । समितिले फोहोर व्यवस्थापनमा नगरपालिकाहरुको लागत सहभागिता सिफारिस गर्ने छ । यसमा नगरक्षेत्रबाट उत्पादन भएको फोहोरको परिमाणलाई आधार लिइनेछ ।

समितिले ल्याण्डफिल साइटको दीर्घकालीन समाधान कसरी निकाल्ने र वर्षौँसम्म निर्माण हुन नसकेको बञ्चरे डाँडाको पूर्वाधार निर्माणका विषयमा सुझाव दिनुपर्नेछ । त्यसैगरी हाल सञ्चालन भइरहेको ल्याण्डफिल साइट सञ्चालन क्षमता सकिएकाले उत्पन्न समस्या कसरी समाधान गर्ने भन्ने विषयमा पनि समितिले सुझाव दिनेछ ।

ल्याण्डफिल साइट प्राविधिकरुपमा निकै कमजोर अवस्थामा सञ्चालन भइरहेकाले संवेदनशील भएर व्यवस्थापनका लागि काम गर्ने संयोजक मरहठ्ठाले बताए । बञ्चरे डाँडामा एक हजार ७३० रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ ।

प्रतिकृया दिनुहोस