सुँघेरै मापसे जाँच गर्छन् ट्राफिक प्रहरी !

Mapase

नेपालगञ्ज । बाँकेका ट्राफिक प्रहरीलाई मापसे जाँच गर्दा सुँघेरै गर्नुपर्ने बाध्यता छ । केही संख्यामा भएका ब्रेथलाइजर मेशिन पनि बिग्रिएका कारण ट्राफिक प्रहरीले अहिले सुँघेरै मापसे जाँच गर्नुपरिहरेको हो ।

प्रदेश नं ५ ट्राफिक कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकी ब्रेथलाइजर मेशिन नहुँदा सुँघेरै जाँच्नुपर्ने अवस्था रहेको बताउँछन् । बुढाथोकीले प्रमाण जुटाउन स्वास्थ्य जाँच वा सर्वसाधारणलाई कारबाहीबाट छुटकारा दिनु परिरहेको बताए ।

सुँघेर जाँच गर्दा ट्राफिक प्रहरीलाई अन्य रोग सर्ने खतरासमेत उत्तिकै छ । सुँघेर जाँच गर्नुगर्दा मापसे गरे पनि नगरेको भनेर सर्वसाधारणले जिद्दी गरेपछि ट्राफिक प्रहरीले थप समस्या झेल्नुपरेको छ ।

मापसे गरे/नगरेको सुँघेरै थाहा पाउनुपर्ने हुँदा जाँच गर्ने क्रममा थोरै मात्रामा मापसे सेवन गरेका नागरिकलाई पनि स्वास्थ्य जाँचका लागि अस्पताल पु-याउनुपर्ने ट्राफिक प्रहरीको बाध्यता रहेको छ ।

मुख नजिकै नाकले सुँघ्नुपर्दा यदि चालकलाई घातक सरुवा रोग लागेको भए मारमा पर्ने जोखिम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकाया बताउँछन् ।

सुँघेर जाँच गर्दा ट्राफिक प्रहरीको स्वास्थ्यसमेत जोखिममा पर्ने गरेको उनको भनाइ छ । स्वाश बाहिर फाल्न लगाएर सुँघ्नुपर्ने भएकाले सरुवा रोग सर्ने सम्भावना अत्यधिक रहन्छ । सुँघेर मापसे जाँच गर्दा सरुवा रोग लाग्न सक्ने डर हुँदाहुँदै पनि पर्याप्त प्रविधि नभएका कारण जोखिम मोल्न ट्राफिक प्रहरी बाध्य छन् ।

मादक पदार्थ सेवन गरी गाडी चलाउनेलाई ट्राफिक प्रहरीले कारवाहीसँगै सचेनता अभियान चलाएपछि त्यस्ता चालकको सङ्ख्या घट्न थालेको छ ।

प्रतिकृया दिनुहोस