शिक्षण अस्पतालका चिकित्सकहरुले सुरु गरे हड्ताल

Teaching hospital tu

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले आजबाट हड्ताल सुरु गरेका छन् । १४ दिनदेखि आमरण अनशनरत डा.गोविन्द केसीको माग सम्बोधनको पक्षमा रहेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हडतालमा उत्रेका हुन् ।

उनीहरुले केसीको जीवन रक्षाको माग गर्दै आजदेखि हडताल थालेको जनाएका छन् । डा.केसी १४ दिनदेखि जुम्लामा अनशनरत छन् । तर, उनको मागलाई लिएर सरकारसँग वार्ता हुन सकेको छैन् ।

डा.केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

डा.केसीलाई बुधबार काठमाडौं ल्याउने प्रयास भएको थियो । तर, त्यो असफल भएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन एनआरडीएले आजबाट आकस्मिकबाहेकका सेवा ठप्प पार्न थालेको छ ।

एनआरडीएले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारी रवैयाले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने कठोर बाटो रोजेको जनाएको थियो ।

हिजो नै मधेशी चिकित्सक संघले चिकित्सा स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गरेको थियो ।

डाक्टर केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन कमजोर बन्दै गइरहेका कारण केसीको जीवन रक्षाका लागि सरकारले गम्भीर र छिटो कदम चाल्न संघले आग्रह गरेको थियो ।

पत्रकार सम्मेलनमा संघका प्रवक्ता डा विनय पञ्जियारले अनशनप्रति सर्मथन जनाउँदै माथेमा आयोगको सुझाव प्रतिवेदनमाथि अहिले आएर प्रश्न उठेकाले उक्त प्रतिवेदनलाई समयसापेक्ष पुनरावलोकन गरिनुपर्ने माग गरेका थिए ।

प्रतिकृया दिनुहोस