कार्गो विमान चढेर ग्वान्जाओ पुगे भद्र र रुपसी

Bhadra & rupasi

काठमाडौं । नेपालले चीनलाई उपहारस्वरुप दिएका ‘भद्र’ र ‘रुपसी’ नामका गैंडा ग्वान्जाओ पुगेका छन् । नेपाली गैंडा बोकेर चिनियाँ विमान बेलुकी पौने ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। ती गैंडालाई ‘ग्वान्जाओ चेमेलोङ सफारी पार्क’ मा राखिनेछ ।

उक्त पार्कको हावापानी, बासस्थान, आहार र घाँसे मैदानबारे विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईको नेतृत्वमा गएको नेपाली विशेषज्ञको टोलीले यसअघि नै अध्ययन गरिसकेको छ ।

प्रधानमन्त्री केपी ओलीले बिहीबार प्रकृति संरक्षण कोषको मुख्यालयमा आयोजित विशेष कार्यक्रममा साइटिस निर्यात प्रमाणपत्र, प्रजाति उत्पत्ति प्रमाणपत्रसहित जोडी गैंडा चिनियाँ राजदूत यु होङलाई हस्तान्तरण गरेका थिए ।

अर्को जोडी पनि साउनभित्रै हस्तान्तरण गर्ने सरकारको तयारी छ, ती जोडी सौराहास्थित ‘बुमा’ मा छन्।

उपहार दिइएका दुवै गैंडा करिब दुई वर्षका हुन् । भालेको तौल ९ सय र पोथीको तौल करिब १२ सय किलो छ । राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार भालेलाई चितवन निकुञ्जको खोरिया मुहान र पोथीलाई निकुञ्जकै सुखीभार क्षेत्रबाट नियन्त्रण लिइएको हो।

गत वैशाखमा नियन्त्रणमा लिई सौराहास्थित ‘बुमा’ मा राखेर हेरचाह गरिएको थियो । नेपाली गैंडा राखिने पार्कको अवस्था हेर्न बुधबारै भेटेरिनरी चिकित्सक किरण रिजालसहित वन्यजन्तु प्राविधिकहरू दीपप्रसाद चौधरी र विनोद दराई ग्वान्जाओ गएका छन्।

बिहीबार पनि गैंडासँगै निकुञ्जका भेटेरिनरी चिकित्सक कमलप्रसाद गैरे, तीर्थ लामासहित चिनियाँ प्राविधिक गएका छन् । नेपाली प्राविधिकले नयाँ बासस्थानबारे अध्ययन गर्दै खानपिन, तिनका आनीबानी र गतिविधिबारे चिनियाँ प्राविधिकलाई जानकारी गराउनेछन्।

नेपाली प्राविधिकले ती गैंडालाई एक महिनासम्म रेखदेख गर्नेछन् । गैंडा नियन्त्रणदेखि हेरचाह, आहार, खानपिन, प्राविधिक तयारी र काठमाडौंसम्म ल्याउन चीनले सरकारलाई डेढ करोड सहयोग गरेको थियो।

गैंडा हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले भद्र र रुपसीको ग्वान्जाओ बसाइ स्वस्थ र सुखी हुने विश्वास व्यक्त गरे । ‘यो जोडीले आफ्नै घर ठानेर सुखी र खुसीसाथ रमाएर बाँच्ने अपेक्षा छ,’ ओलीले भने, ‘हामी माइतीजस्ता भए पनि त्यहाँ जाँदा हालखबर बुझ्छौं ।’

गैंडाको जोडीलाई ओलीले भृकुटीसँग जोडे । ‘भृकुटीलाई स्रङचङ गम्पोको जिम्मा लगाएका थियौं,’ ओलीले भने, ‘रुपसीका साथ भद्र पनि पठाएका छौं ।’ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले यसले चीन र नेपालबीचको सम्बन्ध गाढा बनाउन थप मद्दत पुर्‍याउने बताए।

चिनियाँ राजदूत होङले यी दुर्लभ गैंडाको रेखदेख र हेरचाह गर्ने जिम्मा आफ्नो मुलुकको भएकाले निश्चिन्त बन्न आग्रह गरिन् । यसअघि सरकारले अमेरिका, जापान, थाइल्यान्ड, अस्ट्रियालगायत मुलुकलाई २६ वटा गैंडा उपहार दिइसकेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...