विरुवा हुर्काए किसानलाई सय, मरे सरकारलाई सय

Save tree

दाङ । तुलसीपुर उपमहानगरपालिकाअन्तर्गत कृषि विकास शाखा कार्यालयले विरुवा लगेर जोगाउन नसक्नेलाई १ सय रुपैयाँ जरिवाना गर्ने भएको छ । शाखाबाट लगेर हुर्काए १ सय रुपैयाँ प्रोत्साहनवापत दिने भएको छ ।

कृषि विकास शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक केसीले भने, ‘बिरुवा लगेर जोगाउनेलाई प्रतिविरुवा १ सय दिएर प्रोत्साहनस्वरुप दिन्छौं तर यहाँबाट लगेका बिरुवा मरे भने प्रतिबिरुवा १ सयका दरले किसानलाई जरिवाना तिर्न लगाउँछौँ ।

केसीका अनुसार नगरपालिकाका १९ वडाका किसानलाई वरुवा वितरण गरेको हो । हालसम्ममा शाखाले किसानलाई विभिन्न प्रजातिका १३ हजार ६ सय ३ फलफूलका विरुवा निःशुल्क रुपमा वितरण गरेको छ ।

अझै ११ हजार विरुवा वितरणका लागि तयारी अवस्थामा छ । कार्यालयले किसानलाई लक्ष्य गरी २० हेक्टर जमीनमा फलफूलका बिरुवा उत्पादन गरेको थियो ।

आफूले उत्पादन गरेका विरुवा अपुग भएपछि कार्यालयले कृषि अनुसन्धान केन्द्र धनकुटा, सल्यान लगायतका जिल्लाबाट ल्याई वितरण गरिरहेको केसीले जानकारी दिए ।

वडा कार्यालयबाट सिफारिस लिएर आउने किसानलाई प्रतिकिसान २५ वटा विरुवाका दरले निःशुल्क वितरण गरिँदैआएको छ ।

वितरण गरिएका विरुवामा सबैभन्दा बढी कागती, लिची, कटहर, अमला, लिची, अनार र अम्बा छन् । केराको बिरुवा ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराउने कार्यालयले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रमा फलफूल बगैँचा निर्माण गर्ने नीति नगरसभाबाट पारित गरेको छ । सोही सभाबाट विरुवा जोगाउनेलाई प्रोत्साहन तथा विरुवा मरेमा कारबाही गर्ने नीति पनि पारित गरिसकेको छ ।

प्रतिकृया दिनुहोस