आखिर सडकमा टिपरको ज्यादति कहिलेसम्म ?

Tripper 32

काठमाडौ‌ । राजधानी काठमाडौंमा यो महिनामात्रै टिपरको ठक्करबाट चार जनाले ज्यान गुमाइसकेका छन् ।

मंगलबार राजधानीको जडीबुटीमा जेब्राक्रसअगाडि टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार भक्तपुर सल्लाघारीका १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको छ । तीव्र गतिमा भक्तपुरबाट कोटेश्वर आउँदै गरेको टिपरले ब्रेक लगाउन नभ्याउँदै मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीको बताए ।

बा८५प ७१६ नम्बरको मोटरसाइकल हाँकिरहेका भक्तपुरकै अमन ढुंगेल पनि सुवेदीसँगै सडकमा बजारिए । ढुंगेलको खुट्टा भाँचिएको छ भने सुवेदीको घटनास्थलमै मृत्यु भएको हो।

बा४ख ८७२५ नम्बरको टिपरले लापरबाही ढंगले अन्य सवारीसाधनलाई पेल्ने गरी हाँकेको प्रत्यक्षदर्शीले बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यसअघि गत जेठ ३० गते जडीबुटी नजिकै ना४ख ३५८८ नम्बरको टिपरले बा७०प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा रौतहट घर भएर काभ्रे बस्दै आएकी अस्मिता भण्डारीको मृत्यु भएको थियो ।

जेठ नौ गते भक्तपुर नलिनचोकमा बा३ख ६६७४ टिपरले बा५६प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिंदा लोकन्थली बस्ने हरिभक्त कटवाल, सविता घिमिरे र अवीन्द्र घिमिरेको मृत्यु भएको थियो । महाशाखाका अनुसार २०७४ साउनदेखि जेठसम्ममा मात्रै उपत्यकामा टिपरको ठक्करबाट ३९ जनाले ज्यान गुमाइसकेका छन् ।

महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीका अनुसार टिपर चालकलाई कारबाही गर्दा पनि दुर्घटना नियन्त्रणमा आएको छैन । उनले भने, ‘हामीले धेरै पटक टिपर चालकलाई कक्षा दिंदै आएका छौं । चालकले दुर्घटनाबारे सचेत हुने प्रण गर्छन् तर व्यवहार फेरिएको छैन ।’

महाशाखाका अनुसार पिक–आवर (बिहान नौदेखि ११ बजेसम्म र अपरान्ह चारदेखि साँझ ६ बजेसम्म) रिङरोड र भित्री सडकमा छिर्न मालवाहक सवारीसाधनलाई रोक लगाइएको छ । तर रिङरोडबाहिर चल्नेलाई निर्वाध चल्न दिइएको छ ।

‘अहिले भक्तपुरमै पनि टिपर चालकलाई नै केन्द्रित गरेर कक्षा लिँदै आएका छौं तर चालकले नै लापरबाही ढंगले हाँक्छन् र दुर्घटना निम्तिन्छ,’ एसपी मैनालीले भने, ‘तीव्र गतिमा हाँक्ने, म्युजिक बजाएर वास्ता नगरी सवारी हाँक्ने र हेभी गाडी चलाउने मापदण्ड नपुग्दै सवारी हाँक्ने चालकले दुर्घटना निम्त्याएको देखिन्छ ।’

ट्राफिक इन्जिनियर आशीष गजुरेल टिपर चालकले सवारी हाँक्दा धेरै लापरबाही गर्ने गरेको बताउँछन् । ‘हेभी गाडीको लाइसेन्स वितरण प्रणालीमै सुधार गर्नुपर्ने देखिन्छ । अझ टिपर चालक त कलिला उमेरका देखिन्छन् । गाडी पनि धेरै पावरफुल गेयर हुने भएकाले तीव्र गतिमा हाँक्दा दुर्घटना हुन्छ,’ गजुरेलले भने, ‘चालकले संयम भएर हाँके मात्रै पनि दुर्घटना न्युनीकरण गर्न सकिन्छ ।’

उनले मालवाहक सवारी साधनलाई अहिले रिङरोडमा मात्रै अफिस टाइममा रोक लगाउँदै आएकोमा अब उपत्यकाभित्र र बाहिरका सडकमा पनि त्यही मापदण्ड लगाउनु आवश्यक रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...