बिजेश्वरी छात्रावास प्रकरण : दोस्रो पटक लाग्यो एनजिओको अफिसमा ताला

Nndswo tala 26

काठमाडौं । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (एनएनडिएसडब्लुओ) नामक एक गैरसरकारी संस्थाले काठमाडौं –१५ मा रहेको बिजेश्वरी छात्राबास कब्जा गर्न खोजेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

विभिन्न राजनीतिक दलआवद्ध संयुक्त राजनीतिक दलित संघर्ष समितिले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भेटेर सार्वजकि सम्पत्तिमा एनजिओले गरेको बद्मासीले सिंगो दलित आन्दोलनमै ठेस लागेको भन्दै तत्काल रोक्न माग गरे ।

यता, एनजिओले सार्वजनिक जग्गा हडप्न खोजेपछि दलित विद्यार्थीहरु पनि संगठित भएका छन् । उनीहरुले संयुक्त दलित विद्यार्थी संघर्ष समिति नेपाल नामक समिति नै बनाएका छन् ।

सोमबार पूर्व एमाले, माओवादी, मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वको विद्यार्थी संगठनहरुले संयुक्त दलित विद्यार्थी संघर्ष समिति नेपाल नामक समिति नै बनाएका हुन् । यसको संयोजकमा मदन भुल चयन भएका छन् ।

सो समितिले सोमबार नै शैक्षिक क्षेत्रमा दलित विद्यार्थी माथिको अन्याय अत्याचार र भ्रष्टाचारविरुद्ध शशक्त आवाज उठाउने निर्णय गरेको थियो ।

मंगलबारदेखि काठमाडौं १५ बिजयश्वरीमा रहेको समाज विकास छात्रबास कब्जा गर्न खोज्ने नेपाल राष्ट्रिय दलित समाज कल्याण संघविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।

अफिसमा दोस्रो ताला
पहिलो चरणमा छात्राबासमा रहेका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । सोही क्रममा उनीहरुले २२ असारमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको कार्यालयमा तालाबन्दी गरेका थिए ।

तर, सोही दिन लगाइएको ताला संघले आफैं ताडेर अफिस सञ्चालन गरेको थियो । संघले विद्यार्थीको मागको विषयमा छलफल गर्नुको सट्टा जवरजस्ती पूर्ण तरिकाले ताला फोडेर अफिस सञ्चालन गरेकोमा विद्यार्थी संघ संगठनहरु आक्रोसित बनेका थिए ।

अहिले फेरि पहिलो ताला लागेको ५ दिनपछि फेरि संघमा दोस्रोपटक तालाबन्दी भएको छ । लामो समयदेखि दलित आन्दोलनले आफ्नो उपलब्धि ठान्दै आएको विजेश्जरी छात्राबासलाई एउटा अमुक एनजिओले कब्जा गर्न खोजिएकाले तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक मदन भुल बताउँछन् ।

बिजेश्वरीमा रहेको सो छात्राबासमा झण्डै ७० जना विद्यार्थी बस्दै आएका छन् । बिजेश्वरी छात्राबास सरकारी तवरबाटै खोलिएको सेवामुलक छात्रावास हो । तर, यो छात्रावासमा एनएनडिएसडब्लुओको हालिमुहाली गरिरहेको छ ।

बिजेश्वरी छात्राबास काठमाडौं महानगरपालिका बडा नं. १५ स्थित बिजेश्वरी डाडामा ३ रोपनी ७ आना जग्गामा निर्मित हो । जसलाई बिजेश्वरी छात्रावास भनेर चिनिन्छ ।

सो छात्राबासको जग्गा एनएनडिएसडब्लुओले आफ्नो भन्दै बझाङ जिल्लाको छविस पाथिभरा गाउँपालिका वडा नं. ६ का दिनेश बिकलाई वार्डेन पनि नियुक्त गरेपछि विवाद चर्किदै आएको छ ।

तत्कालीन राजा महेन्द्रले २०१९ मा सहर्षनाथ कपालीलाई छात्रावासको जग्गा खरिद गर्न २५ हजार रुपैयाँ दिएका थिए । तत्कालीन दलित अगुवाको पहलमा तत्कालीन सरकारले पैसा दिएपछि दलित अगुवाहरुकै सहमतिमा काठमाडौं वडा नं. १५ स्थित विजेश्वरीमा ३ रोपनी ७ आना जग्गा खरिद गरिएको थियो ।

२०२८ मा किर्तिनिधी विष्टले सो भवन निर्माण गर्न पहिलोपटक बजेट दिएका थिए । र, उनैले सो छात्रावासको भवन पनि शिलन्यास गरेका थिए । २०३३ सालसम्म एक तले भवन बन्यो । जहाँ १६ कोठा विद्यार्थी बस्ने कोठा, १ सभाहल, १ वार्डेन कोठा र १ वटा खाना खाने कोठाको भवन बनेको थियो । सोही सालदेखि नै विजेश्वरी छात्रावासमा दलित विद्यार्थी बस्न थालेका थिए ।

२०४२ मा प्रतापराम लुहारलाई सो छात्राबास सञ्चालन समितिको अध्यक्ष बनाइयो । उनी खुंखार पञ्च थिए । तर, उनले पछि उसलाई समाज कल्याण परिषदमा दर्ता गर्दा भने गलत गरेका थिए । उनी त्यसबेला नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको अध्यक्ष थिए । त्यही बेला उनले सो छात्राबासको जग्गालाई संघको नाममा ल्याए ।

तर, एउटा इतिहास बोकेको विजेश्वरी छात्राबास आज एउटा गैरसरकारी संस्थाले हालिमुहाली गरिरहेको छ । आफ्नो बनाइरहेको छ । संघको यो कार्यविरुद्ध सबै राजनीतिक दल आवद्ध दलित संघ संगठनहरुले विरोध जनाएका छन् ।

 

 

प्रतिकृया दिनुहोस