जटिल बन्दै केसीको स्वास्थ्य अवस्था, हृदय गति बन्द हुन सक्ने खतरा

Dr kc 26

जुम्ला । जुम्लामा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था एकदमै कमजोर बन्दै गएको छ । अधिकांसले डा. केसीलाई काठमाडौं लगेर उपचार गर्न सल्लाह दिइरहेको भए पनि केसीले काठमाडौं जान मानिरहेका छैनन् ।

चिकित्सकहरूका अनुसार डा. रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै गएको छ । मुुटुको चालमा गडबडी देखिएको छ । यस्तो अवस्थामा जटिलता थपिँदै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा हुने चिकित्सकहरुले बताएका छन् ।

सेतो रक्तकोषको कमीले गर्दा अहिले संक्रमणबाट बचाउन उनलाई कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठानको स्पेसल केयर युनिटमा राखिएको छ । सेतो रक्तकोषको कमी, पिसाबमा किटोन बढी हुँदै जाँदा निमोनियाको जोखिम हुन्छ । निमोनियाका कारण पनि मृत्युको खतरा रहन्छ । रगतमा ग्लुकोज र अक्सिजनको कमी हुँदा मस्तिष्क घात हुने खतरा पनि उस्तै छ ।

उपचारमा डा. केसीको तर्फबाट सहयोग नभएका कारण उपचार गर्न कठिनाइ भएको एक चिकित्सकले बताएका छन् । डा. केसीलाई जुनसुकै बेला पनि आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्ने चिकित्सकहरुले बताएका छन् । तर, प्रतिष्ठानमा आइसीयुको व्यवस्था छैन ।

डा. केसीको रगतमा चिनीको मात्रा कम हुँदै गएको र उनले ग्लुकोज लिन समेत नमानेकाले ग्लुकोज नभएका अन्य आइभी फ्लुड दिइएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । अहिले उनको उपचारमा प्रवीणकुमार गिरी, धिरज गुरुङ, सिद्धार्थ खाती लगायतका चिकित्सहरु संलग्न छन् ।

प्रतिकृया दिनुहोस