चुनौतीको चाँङमा छन् दुर्गम वडाका वडाध्यक्ष, जसले बस्ती रित्तिनबाट जोगाउनु छ

Jiwan tamang

धनकुटा । जिल्लाभन्दा बाहिर रहेकाहरुले भन्ने गर्छन् धनकुटा एकदमै विकास भएको ठाउँ हो भनेर । र, हो पनि । राणाकालीन गौडा, जसले लामो समयसम्म पूर्वाञ्चल विकास क्षेत्रको नेतृत्व गर्न सफल भयो । र बहुदल आएपछि पनि । तर, दुर्भाग्य गणतनत्र आएपछि धनकुटा कोपभाजनमा परेको छ ।

त्यही राणाकालीन गौडाको एउटा गाउँ हो कुरुलेतुनपा । जुन ठाउँका बासिन्दा खानेपानीको अभावले दिनदिनै बसाई सरिरहेका छन् । आफ्नो जन्म गाउँ छाड्ने रहर नहुँदा नहुँदै पनि दिनदिनै बस्ती रित्तिदै छ ।

देख्दा र भन्दा धेरै कुराको सजिलो हुन्छ । कुरुलेतेनुपाको बात्थला, भदौरे, गैरीगाउँ, चुरुंगी लगायतमा खानेपानीको व्यवस्था छैन । खानीगाउँ, गैरीगाउँको अवस्था उस्तै दयनीय छ । यहाँ बासिन्दाले भनेजस्तो प्यास मेटाउन पाएका छैनन् ।

यी स्थान जिल्लाकै सुख्खा क्षेत्रको रुपमा चिनिएको छ । कुरुलेको तल्लो बेल्ट अत्यन्तै विकट छ । जहाँ विकासै नभएको ठाउँ भन्न थालिएको छ । यही अविकासित वडाको विकासका लागि क्रियाशील छन् वडा अध्यक्ष जीवन तामाङ ।

यस्ता छन् उनका योजना
चौविसे गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष तामाङलाई आफ्नो वडाको विकास गर्न त्यति सजिलो छैन । किनभने यहाँका बासिन्दा प्यास मेट्नका लागि बसाई सरिरहेका छन् ।

गाउँभरी खानेपानी छैन । जसोतसो गाउँमै टिकिरहेकाहरु पनि पानीको लागि २÷३ घण्टाको बाटो धाउन बाध्य छन् । उनले अबका दिनमा आफ्नो बस्ती रित्तिनबाट रोक्नु छ । त्यसलाई रोक्न अर्थात् तीव्र रुपमा भइरहेको बसाईसराई रोक्न ५ वर्षसम्म भित्रै खानेपानीको उचित व्यवस्थापन गर्नुछ । मगर बाहुल्य बस्ती हो उनको वडा । तामाङ पनि उत्तिकै छन् । क्षत्री बाहुनहरु क्रमसः बसाई सरिसकेका छन् ।

त्यति मात्रै होइन, उनको वडामा गाडी बाटो छैन । बल्लतल्ल तमोर नदीको किनारै किनार तमोर करिडोरले सडक बनाइरहेको छ । बल्लबल्ल काबेली सडक आइपुगेको छ । तमोर करिडारले मात्र स्थानीयलाई आवातजावत गर्न सजिलो भएको छ ।

उनको वडामा वडा कार्यालय छैन । हालको वडा कार्यालय भएको ठाउँसम्म पुग्ने बाटो पनि गोरेटो मात्रै छ । वडा कार्यालयसम्म पुग्ने सडक सञ्जाल छैन । जसलाई उनले आफ्नो कार्यकालभरी पूरा गर्नु पर्नेछ ।

उनको वडा जति दुर्गम छ, त्यति रमाइलो पनि छ । खेतीयोग्य फाँटहरु छन् । डिहीटार खेतीयोग्य फाँट हो । यो धनकुटा, तेह्रथुम र पाँचथर जिल्लाको संगमस्थल पनि हो । डिहीटारमा व्यवस्थित रुपमा खेती गर्न सके सिंगो वडालाई मात्रै होइन, अन्य जिल्लालाई पनि यसले खाद्यान्नमा मद्दत गर्न सक्छ ।

यहाँ फाँटमा सिँचाईको व्यवस्था गर्नुछ । त्यसको योजना पनि उनले बनाइरहेका छन् । कुरुलेका केही भाग तरकारी खेती गर्न उपयुक्त छन् । तर, सिचाँई नहुँदा बाँझो सरह छन् । फलामेटार उर्भर भूमी हो । यहाँको खेतीलाई आधुनिकीकरण गर्न जरुरी छ । उनी त्यसको लागि पनि लागेका छन् ।

पत्याउन गाह्रो छ की धनकुटामै अझै बिजुली बत्ति बल्दैन भनेर । तर, उनको वडाका धेरै घरमा बिजुली बल्दैन, टुकीको सहारा लिन्छन् स्थानीयबासी । ‘केही ठाउँमा मात्रै विजुली बलेको छ’ उनले भने, ‘आफ्नो कार्यकालभरी सबै घरमा बिजुली बाल्ने योजना बनाएको छु, सम्भवतः सबै घरमा ५ वर्षभित्र बिजुली बाल्न सकिन्छ ।’

संघर्षले खारिएका जीवन
जीवन संघर्ष हो । र जीवन तामाङ आफैंले पनि जीवनका अनगिन्ती मोडहरु संघर्षमय ढंगले व्यतित गरेका छन् । जीवनका अनगिन्ती मोडहरु पार गर्दै वडा हाँक्ने अवसर पाएका छन् । उनले यसरी यो स्थानमा पुग्छु भनेर कल्पना पनि गरेका थिएनन् ।

एउटा सानो झुपडीमा हुर्किएका जीवन । कुरुले ८ भदौरे ३३ वर्षअघि जन्मिए जीवन । तमोर नदीबाट उनको घर पुग्न आधा घण्टा मात्रै लाग्छ । वुवा आमा किसान हुन् । जीवन जेलमै रहँदा २०६१ मा उनका वुवा बित्नुभयो । घरको आर्थिक अवस्था कमजोर हिजो पनि कमजोर थियो र, आज पनि उत्तिकै कमजोर छ ।

विविध घटना क्रमले २०५७ सालमा उनी जेल परे । जुनबेला उनी सानै थिए । जेल परेपछि उनले धनकुटा कारागारमै अध्ययन गरे । जेलमा रहँदा उनले धेरैको संगत गरे । राजनीतिकर्मीसँग पनि संगत गरे । ०६३ मा उनी जेलमुक्त भए । त्यसपछि उनको जीवनमा पनि परिर्वतन भयो ।

राजनीतिक यात्रा
चौबिसे गाउँपालिका वडा नं. ४ मा तत्कालीन समयमा नेकपा एमालेकै पकड बलियो थियो । उनले समर्थन गरेको पार्टी नेपाली कांग्रेस दोस्रो मानिन्थ्यो । तेस्रोमा थियो तत्कालीन एमाओवादी केन्द्र ।

एमाले बलियो हुँदा हुँदै पनि उनले एमालेका उम्मेदवार कृष्णबहादुर घिमिरेलाई ३८ मतले पराजित गरे । जीवनले २७६ मत पाउँदा घिमिरेले २३६ मत पाएका थिए ।

उनी राजनीतिमा लागेको पनि धेरै भएको छैन । छोटो समयमै उनी उनी वडाअध्यक्ष बनेका छन् । उनी २०७० सालदेखि मात्रै नेपाली कांग्रेस बनेका थिए ।

त्यसभन्दा अघि उनी माओवादीलाई समर्थन गर्थे । दुई पटकको संविधानसभाको निर्वाचनमा माओवादीका नेता हेमराज भण्डारीको पक्षमा लागेर चुनाव प्रचारप्रसार गरे । २०७० मा राजनीतिक यात्रा परिवर्तन गरेपछि उनको जीवनले पनि नयाँ मोड लिएको छ । तर, दुर्गम वडाका वडाध्यक्ष भएका कारण जनताका आधारभूत आवश्यकता पूरा गर्न उनलाई त्यति सजिलो भने छैन ।

प्रतिकृया दिनुहोस