खुल्ला पत्र : सर्जन डा. अनुपमा थापा बस्नेतलाई अर्जुनको गुनासै गुनासो

Arjun raj

स्थान : कान्ति बाल अस्पताल, चक्रपथ
बेड नं. : आइसियु बेड नं. २९२
बिरामीको नाम : सीमा भुषाल

मेरो बच्ची मरी । बचाउने कोशिस हजुरहरुको पनि हो । त्यो म स्वीकार्छु । तर जुन समस्या बोकेर अस्पतालमा पुगिन्छ, त्यो समस्या समाधान हुनुको सट्टा धेरै विरामी समस्या कै कारण अस्पतालको शैय्यामै मर्छ भने त्यो अस्पताल र डाक्टरहरुको लापरवाही मान्ने कि नमान्ने ?

आइसियुमा राखिएको बिरामीलाई नै निमोनिया र इन्फेक्सन सुरु हुनु अस्पताल र डाक्टरको कमजोरी हो कि होइन ? बिदेशमा हुन्थ्यो भने उपचारमा संलग्न डाक्टर कोर्टमा जानुपर्ने अवस्था हाउँथ्यो । तपाईंहरुले भनेको हर कुरा हामीले स्वीकायौं । उपचारका क्रममा जेजे भन्नु भयो, त्यो सबै मान्यौ । तर, तपाईहरु एउटा अबोध बालको मृत्युपछि आिफ्नो कार्यको ग्लानी महसुस गर्न उपस्थित पनि हुनुभएन ।

आफ्नो पेसामा हुनुपर्ने जवाफदेहीपन निभाउनु भएन । बच्चा मर्ने निस्चित भइसकेपछि राति नै अस्पतालमा आएर तपाईं विरामीका आफन्तलाई नभेटी फर्किनु भयो । यसमा मलाई ठूलो गुनासो छ ।

अप्रेसनपश्चात आइसियुमै रहेको अवस्थामा टाँका चुटिनु अस्पताल, स्याहारे र स्वयम् तपाईको कमजोरी हो कि होइन ? बिरामीको हरेक समस्यामा बिरामीका आफन्त जवाफविहीन हुनुपर्ने र स्वाथ्यकर्मीको कमजोरीलाई भगवान भरोसा मान्नुपर्ने । यो सिन्डीकेट हो कि होइन ?

बिरामी कुरुवा वा आफन्तलाई प्रारम्भमा केही भन्न सकिन्न, अवस्था ‘क्रिटिकल’ छ, भगवान माथि भरोसा गर्नुस् भन्दै तपाईको बिरामी मर्दैछ भनेर मानसिक रुपले तनाव दिने काम यातना हो कि होइन ?

म आवश्यक परे तपाईले हजुरले बोलेका हरेक सम्बादहरु सुनाउन सक्छु । जसको प्रमाण मसँग सुरक्षित छन् ।

बिरामीको मृत्युपछि पनि बिना हस्ताक्षर लास नदिनु, उपचारको क्रममा भएको रिपोर्टिङ फाइल नदिनु यो अर्को सिन्डिकेट हो कि होइन ? डाक्टरले गरेको गल्ती जति सबै बिरामीका आफन्तलाई नदिनु वा लुकाइनु, र अन्यत्र लगेर त्यो जान्ने अवसरबाट बञ्चित गरिनु हो कि होइन यो ?

डाक्टर साब हजुर ४० सेकेन्ड मात्र मेरो ठाउँमा बसेर सोचिदिनुस् । एउटा सानो जाबो आन्द्रामा भएको समस्या बोकेर लगिएको स्वास्थ्य बिरामी (वान्ताबाहेक कुनै समस्या नभएको) जसलाई आइसियु कक्ष मै निमोनिया र इन्फेक्सन बढेर डाक्टरको रोहवरमै मृत्यु हुन्छ भने त्यसलाई तपाई के भन्नुहुन्थ्यो ?

म तपाईको पेशाको सम्मान गर्छु तपाईलाई व्यक्तिगत रुपमा आफ्नै दिदी सरह आदर सम्मान पनि गर्छु । तर म र मेरो परिवारलाई यी प्रश्नको जवाफ दिन म सकिरहेको छैन । जुन प्रश्न मैले हजुरलाई गरेको छु । त्यही प्रश्न मेरो परिवारबाट बारम्बार आउँछ । म के जवाफ दिउ ?

मेरो परिवारमा जन्मिएको पहिलो लक्ष्मीलाई मैले कतै सुविधासम्पन्न हस्पिटलमा लगेर पनि उपचार गर्न सक्थे होला । तर, तपाईहरुको बिश्वासमा पर्दा नमर्ने बच्चा मर्याे ।

तपाईलाई पनि यो कुरा थाहा होला कि म काठमाडौंमै घर हुँदा पनि ३९ दिनसम्म आउन पाइनँ । म कान्ति बाल अस्पतालमै बसे । यो अवधिमा सर्जन डिपार्टबाट एउटा बच्चा पनि सकुशल फर्किएको मैले देख्न पाइनँ । यसलाई के भगवान भरोसा भनेर नै छोड्ने कि तपाईको विरुद्धमा आवाज उठाउने ?

मैले विगत १३ वर्षदेखि पत्रकारिता गर्दै आएको छु । चाहेको भए उपचारको क्रममा तपाईसँग पत्रकार बनेर तपाईको हस्पिटलले गरेका यस्ता गतिविधि सार्वजनिक पनि गर्न सक्थे होला । तर म एउटा बिरामीको आफन्त अर्थात् म एउटा छोरीको बाबु बनेर डाक्टरलाई आफ्नो धर्म निभाउन अपिल गरिरहेको थिएँ ।

अन्त्यमा म मेरो प्रश्नको जवाफ हजुरबाट सुन्न चाहन्छु । र, तपाईलाई भगवान सम्झेर उपचार गर्न आउने लाखौ विरामीहरु अब सुरक्षित हुन्छन् भन्ने विश्वासिलो प्रमाण पेश गरेको देख्न र सुन्न चाहन्छु ।

उही
अर्जुन राज

 

प्रतिकृया दिनुहोस