छाउगोठमा किशोरीको सामूहिक बलात्कार

Chhaugoth

काठमाडौं । सुर्खेत जिल्लाको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरी महिनावारी भएर छाउगोठमा सुतेको बेला बलात्कृत भएकी छन् । उनलाई राति १२ बजे तीन जना युवाले सामुहिकरुपमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

स्थानीय युवाहरु १५ वर्षीय चेतन गिरी, १८ वर्षीय जनक शर्मा र १४ वर्षीय पदम गिरीले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । तीनैजनालाई प्रहरीले पक्राउ गरेको छ ।

किशोरीको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरीका अनुसार महिनाबारी भएका दुई किशोरी घरदेखि टाढाको छाउगोठमा सँगै सुतिरहेका थिए । तीमध्ये एकलाई राति १२ बजे छाउगोठबाट बाहिर निकालेर अर्कीमाथि बलात्कार भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले सँगै सुतेकी अर्की किशोरीलाई त्यहाँबाट भगाएर एकजनामाथि तीन युवाले बलात्कार गरेको र उनीहरु तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रहरीका अनुसार घरदेखि टाढाको ठाउँ भएकाले आफन्तले मंगलबार बिहानमात्रै घटनाका बारेमा जानकारी पाएका थिए।

प्रहरीले बुधबार जिल्ला अदालतबाट म्याद थप गराएर घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ । सुर्खेतको पश्चिमी क्षेत्रमा महिनाबारी हुँदा घरदेखि टाढाको खरले छाएको सानो छाप्रोमा पाँच दिनसम्म बस्नुपर्छ । झ्यालढोका नहुने भएकाले महिलाका लागि छाउगोठ अत्यन्तै असुरक्षित मानिन्छ ।

प्रतिकृया दिनुहोस