विजेश्वरी छात्रावास थप विवादको घेरामा, संघ भन्छ, ‘समाज विकास छात्रावास मेरै हो’

Nndswo 2

काठमाडौं । असार १६ मा निशान न्युज डटकमले ‘विजेश्वरी छात्रावासमा एनजिओको गिद्धे नजर : किन मौन छन् दलित अधिकारकर्मीहरु ?’ शिर्षकमा समाचार प्रकाशन गरेपछि दलित समुदायका आन्दोलनकर्मीहरुको आँखा खुल्यो ।

सबैतिरबाट दलित आन्दोलनबाट प्राप्त भएको उपलब्धीलाई एनजिओकरण गर्न पाइँदैन भन्ने आवाज उठ्न थाल्यो । त्यसपछि विजेश्वरी छात्राबासको स्वामत्वि आफ्नो हातमा रहेको भन्दै असार १९ गते मंगलबार अर्थात् हिजो नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले विज्ञप्ती जारी गर्याे ।

सो विज्ञप्तीमा ‘नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ समाज विकास छात्रावास स्वर्गीय सहर्षनाथ कपाली ज्यू र स्वर्गीय प्रतापराम लोहार ज्यूको अग्रसरतामा स्थापना भएको हो’ भनिएको छ । त्यति मात्रै होइन, संघले जारी गरेको विज्ञप्तीमा लामो समयदेखि दलित समुदायले नै आफ्नो ठान्दै आएको विजेश्वरी छात्रावासलाई जवरजस्ती रुपमा आफ्नो स्वामित्व देखाइएको छ ।

जाग्न थाले दलितहरु
निशान न्युजमा समाचार प्रकाशन भएपछि विभिन्न पार्टी आवद्ध दलित भात्रृ संघ संस्थाका नेताहरको पनि चासो बढेको छ । उनीहरुले सो जग्गा र विजेश्वरी छात्राबासको विषयमा चासो दिँदै सरकारको ध्यानाकर्षणसमेत गराउने भएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजले त महासचिव गणेश विकलाई छात्राबासको विषयमा गहन अध्ययन गर्न जिम्मेवारी नै दिएको छ । यता, मुक्ति मोर्चाका नेताहरुले पनि राजनीतिक रुपमा सो जग्गा फिर्ता गराउन पहल थालेको छ ।

त्यति मात्रै पहिले चुप लागेको नेपाल दलित संघ पनि जुर्मुराउन थालेको छ । ‘विजेश्वरी छात्राबास दलित आन्दोलनको एउटा उपलब्धी भएकाले कुनै संघ संस्थाको स्वामत्विमा हुनुहुँदैन’ संघका केन्द्रिय उपाध्यक्ष रामकृष्ण लकान्द्री भन्छन्, ‘ यो जग्गा छात्राबासकै हो र छात्राबासकै स्वामित्व हुनुपर्छ ।’

यसरी बन्यो भवन
२०१९ मा दलित आन्दोलनका अगुवा सहर्षनाथ कपालीको अगुवाईमा दलित विद्यार्थीका लागि दलित छात्रावास बनाउने माग गरिएको थियो । त्यसबेला तत्काली राजा महेन्द्रले छात्राबास सञ्चालनका लागि २५ हजार रुपैयाँ दिएका थिए ।

सोही रकमबाट काठमाडौं काठमाडौं महानगरपालिका वडा नं. १५, विजयश्वरीमा ३ रोपनी ७ आना जग्गा किनिएको थियो । त्यो बेला दलितका संघ संस्था दर्ता नभएका कारण आपसी सल्लाहमा सहर्षनाथ कपालीकै नाममा जग्गा किनिएको थियो । त्यसैका आधारमा २०१९ सालमै सो छात्राबासको भवनको पनि शिलान्यास गरिएको थियो ।

तर, बजेटको अभाव भएपछि लामो समयसम्म सो छात्राबास बन्न नसकेपछि २०२८ मा हिरालाल विश्वकर्माको अध्यक्षतामा छात्रावास निर्माण समिति बनाइएको थियो । सो समितिको पहलमा तत्कालिन सरकारले भवन निर्माणका लागि २५ लाख रुपैयाँ दिएको थियो ।

त्यही पैसाबाट भवन बनेपछि २०३३ मा विद्यार्थी बस्ने १६ कोठा, डाइनिङ हल, बैठक हलसहित एक तले भवन बनेको थियो । त्यही पैसाले वार्डेन बस्ने छुट्टै चार कोठे भवन पनि बनाइएको थियो । सो भवन बनेपछि तत्कालीन सरकारले प्रत्येक वर्ष १० हजार रुयैयाँका दरले छात्राबास सञ्चालनार्थ सहयोग गर्दै आएको थियो ।

कसरी संघका नाममा पुग्यो जग्गा ?
कानुनी रुपमा विजेश्वरी छात्राबासको नाममा रहेको ३ रोपनी ७ आना जग्गा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ समाज विकास छात्राबासको नाममा रहेको संघको दावी छ ।

हिरालाल विश्वकर्माको मृत्यु भइसकेपछि शिक्षा मन्त्रालयले प्रतापराम लोहारलाई संचालक समितिको अध्यक्ष बनायो । २०४६ को जनआन्दोलनमा छात्रवासका विद्यार्थी बहुदलको पक्षमा लागेको आरोपमा सबै विद्यार्थी हटाएर छात्राबास खाली गराइएका थिए ।

तिनै लोहारले त्यसबेला आन्दोलनलाई लात मार्दै सो भवनमा आफ्नी श्रमितिको नाममा अनाथालय चलाए । त्यसबेला सहर्षनाथ कपालीका कान्छा भाई जनकबहादुर खड्गीले सो जग्गा आफ्नो हो भनी काठमाडौं जिल्ला मालपोत कार्यालयमा दर्ता गर्न ३५ दिनको म्याद राखि सुचना प्रकाशित गरेका थिए ।

सो थाहा पाएपछि लोहारले सहर्षनाथ कपालीका श्रमिति, छोरा, बुहारी र नातीहरुलाई नैआफ्नो हातमा लिइ सो जग्गामा कुनै हक दावी नगर्ने गरी जिल्ला अदालत ललितपुर, पुनरावेदन अदालत पाटन र मालपोत कार्यालय काठमाडौंमा सहीछाप गराएपछि संघको नाममा अस्थायी लालपुर्जा बनेको थियो ।

सोभन्दा अघि लोहारले सो जग्गा आफ्नो नाममा ल्याउने प्रयास पनि गरेकै थिए । तर, त्यो सम्भव नभएपछि उनले आफु अध्यक्ष भएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नाममा ल्याएको जानकारहरु बताउँछन् ।

छात्रावास कब्जा गर्ने दुस्प्रयास
तर, दलित अधिकारकर्मीहरुले जालसाझी पूर्ण ढंगले सो जग्गा संघले आफ्नो हातमा पारेको बताएका छन् । यसलाई उनीहरुले विजेश्वरी छात्रावास कब्जा गर्ने असफल दुस्प्रयास भनेका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव गणेश विकले दलित आन्दोलनको एउटा हिस्सा ठानिएको विजेश्वरी छात्राबासलाई कुनै पनि गैरसरकारी संस्थाले कब्जा गर्न नपाउने बताउँछन् । ‘यो दलित आन्दोलनप्रति धोका हो’ उनले निशान न्युजसँग भने, ‘अन्तिम समयसम्म पनि लडाई लडिन्छ, त्यसरी सिंगो दलित आन्दोलनलाई धोका दिन पाइन्न ।’

प्रतिकृया दिनुहोस