सरकार र डा. केसी पक्षबीचको वार्ता बिहीबार पनि असफल

Dr kc

काठमाडौं । काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने डा. गोविन्द केसीको मागप्रति सरकारले सहमति नगर्दा बिहीबार भएको डा. केसीपक्ष र सरकारबीचको वार्ता असफल भएको छ।

१० वर्षसम्म आशयपत्र नदिने कुरामा दुबै पक्ष सहमत भएपनि २७ दिनदेखि अनशनरत डा. केसी सम्बन्धन दिन नहुने कुरामा अडिग छन्। तर सरकार सो बुँदामा सहमत हुन नसक्दा वार्ता असफल भएको केसीको वार्ता टोलीका संयोजक रहेका चिकित्सक अभिषेकराज सिंहले बताए। उनले माथेमा आयोगको प्रतिवेदन अनुसार नै काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नहुने र सम्बन्धन पनि दिन नहुने मागलाई सरकारले सम्बोधन नगरेसम्म डा. केसीले अनसन जारी राख्ने बताएको जानकारी दिए।

यसअघि सिंहदरबारमा सरकारी टोली र डा केसीका प्रतिनिधिबीच ७ बुँदे सहमति भएको थियो। उक्त सहमतिको मस्यौदामा नयाँ मेडिकल कलेजको सम्बन्धनबारे कुनै विषय उल्लेख नगरेको भन्दै डा केसीले असन्तुष्टि जनाएका थिए।

नयाँ मेडिकल कलेजको सम्बन्धलाई ऐनमा कसरी उल्लेख भन्ने कुरा प्रष्ट रुपमा नआएको भन्दै उनले सच्याएर आउन आग्रह गरेका थिए। उनको आग्रह पछि सरकारसँग ९ बुँदे सहमति भएको थियो।

वार्ता असफल भएपछि बिहीबार साँझ पत्रकार सम्मेलन गरी डा. केसीका प्रतिनिधि अभिषेकराज सिंहले २७ दिनदेखि अनशनरत डा. केसीको अनशनलाई नजरअन्दाज गरेको बताए। उनले सरकारलाई केसीका माग सम्बोधन गरेर जीवन रक्षा गर्न पनि आग्रह गरे।

यसअघि डा. केसी पक्ष र सरकारबीच नौ बुँदे सहमति भएको खबर आएको थियो। केसीसँग ९ बुँदे सहमति गरेको सरकार आफैलेले गरेको सहमतिबाट पछि हटेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा माथेमा आयोगको प्रतिवेदनमा जे उल्लेख छ, अधिकांश व्यवस्था त्यही अनुसार गर्नेगरी सरकारी टोलीले डा केसीका प्रतिनिधिसँग सहमति गरेको गरेको भएपनि सरकार पछि हटेको हो।

प्रतिकृया दिनुहोस