एक करोड फिरौती लिएर पनि बालकको हत्या !

Ankit

काठमाडौ‌ । एक करोडभन्दा बढी फिरौती तिरेपछि छोरा सकुशल फिर्ता आउनेमा बारा, जीतपुरका गोला व्यापारी ललन गुप्ता ढुक्क थिए । त्यसैले आफ्नो ९ वर्षीय छोरा अंकितको रिहाइका लागि अपहरणकारीको मागअनुसार उनले फिरौती रकम बुझाए ।

अपहरणकारीले थुप्रै शर्त तेर्साइरहँदा ललनले एउटै शर्त राखे ‘छोरालाई यातना नदिई सकुशल फिर्ता गर्नुपर्छ ।’ त्यसबापत अपहरणकारीका सबै शर्त मान्न उनी तयार भए र मागअनुसार एक करोड दुई लाखभन्दा बढी रकम फिरौती बुझाए ।

भारतको बेतिया पुगेर ६४ लाख भारतीय रूपैयाँ बुझाएपछि छोरा फिर्ता आउने आशमा थिए ललन र उनकी पत्नी संगीता । तर अपहरणकारीसामु ललनले सुरुमै राखेको एउटै सर्त पूरा हुन सकेन । फिरौती बुझाएको एक सातापछि अंकितको हत्या भएको खबर आयो ।

ललनको परिवार खबरलाई विश्वास गर्न तयार भएनन् । अपहरणकारीले फोन संवादमा अंकितलाई यातना नदिई सकुशल रिहा गर्ने वाचा गरेको थियो ।

घटनाको अनुसन्धानमा खटिएको बारा प्रहरीले अंकितको हत्या भइसकेको हुन सक्ने बताएपछि ललन परिवार मात्र नभई सिंगो जीतपुर यतिबेला शोकमा डुबेको छ ।

गत जेठ २२ गते मंगलबार साँझ साथीको घरमा खेल्न गएका बेला अंकित अपहरणमा परेका थिए । पाँच छोरी र दुई छोरामध्येका कान्छा अंकित विद्यालयबाट फर्किएपछि केहीबेर खेल्न साथीको घर जान्थे । त्यसदिन रातिसम्म घर नफर्किएपछि गुप्ता परिवारले प्रहरीलाई खबर गरे ।

सोही दिनदेखि घटनाको अनुसन्धान थालेको बारा प्रहरीले ५०औं दिनमा साउन ८ गते (मंगलबार) अंकितको हत्या भएको हुन सक्ने सूचना ल्याएको हो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पर्साको पोखरिया नगरपालिका घर भई हाल वीरगन्ज महानगरपालिका–२४ बस्ने रामप्रवेश साह गोढलाई साउन ७ गते पक्राउ गरेपछि अंकित हत्याको रहस्य खुलेको हो । फिरौती रकम माग गर्न प्रयोग गरिएको भारतीय फोन नम्बरको आधारमा साहलाई पक्राउ गरिएको बारा प्रहरीको भनाइ छ ।

पक्राउ परेका साहको बयानपछि बालकको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको हो । साहले फिरौती रकम लिएपछि अंकितको हत्या गरी पर्साको जगरनाथपुरस्थित गण्डक नहरमा बोरामा हालेर शव फालेको बयान दिएका थिए । साहको बयान अनुसार असार ३२ गते अंकितको हत्या गरी शव फालिएको थियो ।

गुप्ता परिवारले असार ३० गते बेतिया पुगेर फिरौती बुझाएका थिए । फिरौती लिएको दुई दिनपछि अंकितको हत्या भएको हुन सक्ने बताइएको छ । बारा प्रहरी भने गण्डक नहरमा भेटिएको शवबारे अनविज्ञ रहेको थियो । एकअर्कासँग जोडिएको बारा र पर्साका दुई सुरक्षा निकायबीचको समन्वयको अभाव अनुसन्धानमा देखिएको छ ।

करिब डेढ महिनादेखि जीतपुरबाट बालक अपहरणमा परेको विषयमा जानकार पर्सा प्रहरीले बालकको बेवारिसे शव भेटेपछि बारा प्रहरीसँग समन्वय समेत नगरेको देखिन्छ । अपहरणमा संलग्न व्यक्ति पक्राउ परेपछि मात्रै अंकितको शवसम्म बारा प्रहरी पुगेको हो ।

पर्सा प्रहरीले बेवारिसे भन्दै नारायणी उपक्षेत्रीय अस्पतालको शवगृहमा बुझाएको शव अस्पतालले वीरगन्ज महानगरपालिकाको सहयोगमा गाडिसकेको थियो । घटनाको रहस्य खुल्दै गएपछि बारा प्रहरीले गाडिएको स्थानबाटै उत्खनन् गरी अंकितको शवको डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । शव पहिचान हुन नसकेपछि प्रहरीले डीएनए परीक्षण गर्न लागेको हो ।

शव भेटिएकै क्रममा पर्सा प्रहरीले खिचेको फोटोका आधारमा सो शव अंकितको हुन सक्ने परिवारका सदस्यले बताएका छन् । अनुहार चिन्न नसक्ने भए पनि पक्राउ परेका व्यक्तिको बयान, बालकको लुगा र घाँटीमा लगाएको हनुमानको लकेटले शव अंकितको हुन सक्ने पारिवारिक स्रोतले जनाएको छ । डीएनएका लागि उत्खनन गरिएको शव परिवारकै उपस्थितिमा पुनः गाडिएको प्रहरीको भनाइ छ । (अन्नपूर्ण पोष्ट)

प्रतिकृया दिनुहोस