वार्ता असफल, डा. केसीको स्वास्थ्य जटिल बन्दै

D. kc

काठमाडौं । डा. गोविन्द केसी पक्ष र सरकारबीच बुधबार भएको वार्ता निष्कर्षविहीन भएको छ । चिकित्सा शिक्षामा सुधारको माग गर्दै २६ दिनदेखि अनसनरत डा. केसीका मागप्रति सरकार संवेदनशील बन्न नसक्दा वार्ता विना निष्कर्ष टुंगिएको हो।

केसी पक्षले सरकार वार्तामा गम्भीर नदेखिएको आरोप लगाउँदै माग पुरा गर्ने प्रतिवद्धता माग गरेको छ। केसी पक्षले संसदमा दर्ता भएको चिकित्साशास्त्र सम्बन्धी ऐनको अन्तरबस्तुको विषयका सरकारी टोलीले वार्ता गर्न नचाहेको आरोप लगाएको छ। सरकारी वार्ता टोलीले ऐनको विषयबस्तु सरकारी विषय भएको जनाएको थियो।

केसीको वार्ता टोलीका संयोजक रहेका चिकित्सक अभिषेकराज सिंह सरकारी वार्ता टोलीले छलकपट गरेको आरोप लगाए। उनले आफूहरुले उपलब्ध गराएको सूची बमोजिम सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिवद्धता नआएसम्म वार्तामा नबस्ने बताए ।

‘आज २६औं दिनमा डा केसीको स्वास्थ्य असाध्य नाजुक भइसक्दा पनि सरकारी पक्ष चरम गैर जिम्मेवार र संवेदनविहीन हुँदै विधेयक सम्बन्धी दफागत छलफलमा सार्थक रुपमा प्रवेश नगरेको हुनाले यही अलमलका कारण डा. केसीको स्वास्थ्यमा अपूरणीय क्षति पुग्ने अवस्था आइसकेको छ ।

यो अवस्थामा थप अलमल गरेर डा. केसीको स्वास्थ्यलाई झनै जोखिममा पार्न हामी तयार छैनौं’ सिंहको विज्ञप्तिमा भनिएको छ ‘सरकारलाई उपलब्ध गराएको सुचीबमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिवद्धता आएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी गराउँछौं ।’

सरकारले संसदमा दर्ता गरेको विधेयक फिर्ता लिन माग गर्दै केसी २६ दिनदेखि अनसनमा रहेका छन् । उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। वार्तामा संलग्न रहेका अधिवक्ता सुरेन्द्र भण्डारीले सरकारी पक्षसँग विषय बस्तुमा छलफल हुन नसकेको बताए । ‘विषय बस्तुमा कुरै भएन। ऐनको दफाहरुको बारेमा कुरा नै आएन ।

अनौपचारिक कुराकानीमा समाधान गर्नु पर्छ र डा केसीको ज्यान बचाउनु पर्छ भन्नुभयो। त्यो सैद्धान्तिक विषय मात्रै हो । उहाँहरुले विषयबस्तुभित्र प्रवेश गर्न चाहानु भएन । केसीले अघि सार्नुभएको २२ बुँदाको बारेमा धारणा आएन’ भण्डारीले भने । मंगलबार राति अबेर सरकारी तथा आन्दोलनरत पक्षबीच सहमती नजिक पुगेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

प्रतिकृया दिनुहोस