आज हरिशयनी एकादशी; तुलसीको विरुवा रोपेर, भगवान् विष्णुको आराधना गरी मनाइँदै

Dishnu

काठमाडौं । आज हरिशयनी एकादशी हिन्दू धर्मावलम्बीहरूले व्रत बसेर तथा घरघरमा तुलसीको विरुवा सारेर मनाउँदै छन् । भगवान विष्णुको मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ ।

साउनको पहिलो सोमबार पनि परेकाले भगवान शिव र विष्णुको एकैसाथ आराधना गर्ने अवसर छ, यसलाई ठूली शरिशयनी एकादशी पनि भनिएको छ । आज तुलसीको मठमा विधिपूर्वक तुलसी रोपिन्छ । असार शुक्ल पक्षको एकादशीलाई नै हरिशयनी एकादशी भनिन्छ । यसलाई देवशयनी एकादशी पनि भनिन्छ ।

 

असार शुक्ल एकादशीका अवसरमा आज निराहार व्रत बसी भगवान् श्रीविष्णु र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ । वैदिक सनातन धर्म र संस्कृतिमा हरिशयनी एकादशीको ठूलो महत्व छ ।

आषाढ शुक्ल एकादशीका दिनदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक मान्यता छ । त्यही विश्वासमा, पूजा, पाठ गरी मंगलवार हरिशयनी एकादशी मनाइँदैछ ।

हरिशयनी एकादशीको उपासना गरी ब्राह्मणलाई भोजन गराउनु, दक्षिणा दिनु, गौदान गर्नु, वस्त्रदान गर्नु आदि कार्यले मानिसका पूर्व जन्मका सबै पापको नास, पुण्यको वृद्धि भई मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।

हरिशयनी एकादशीका अवसरमा फर्पिङस्थित शेषनारायण मन्दिर, बूढानिलकण्ठस्थित बूढानिलकण्ठको मन्दिरमा दर्शनार्थीको ठुलो भीड लागेको छ ।

यस दिनमा नेपाल र भारतलगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले पर्वकै रूपमा मनाउने गर्छन् । पुराणहरूका अनुसार भगवान विष्णु यस दिनदेखि चार महिनासम्म (चातुर्मास) पातालमा राजा बलिको द्वारमा निवास गरेर कार्तिक शुक्ल एकादशीमा फर्कन्छन् । यही प्रयोजनले यस दिनलाई ‘देवशयनी’ तथा कार्तिकशुक्ल एकादशीलाई ‘प्रबोधिनी’ वा हरिबोधिनी एकादशी भनिन्छ ।

व्रत बस्ने विधि

एकादशीको दिन प्रातःकाल सबेरै उठेर घरको सरसफाई तथा नित्य कर्मबाट निवृत्त हुने । स्नान गरेर पवित्र जल घरमा छर्कने । घरको पूजा स्थल अथवा कुनै पनि पवित्र स्थलमा प्रभु श्रीहरि विष्णुको सुन, चाँदी, तामा अथवा पितलको मूर्ति स्थापना गर्ने । तत्पश्चात उसको षोड्शोपचार सहित पूजन गर्ने र त्यसपछी भगवान विष्णुलाई पीताम्बर आदिले विभूषित गर्ने । तत्पश्चात व्रत कथा सुन्नु पर्छ । त्यसपछी आरती गरेर प्रसाद वितरण गर्ने ।

अन्तमा सेतो चादरले ढाकेको गद्दा(तकिया भएको खाटमा श्री विष्णुलाई शयन गराउनु पर्छ । व्यक्तिलाई यि चार महीनाको लागि आफ्नो रुचि अथवा अभीष्टका अनुसार नित्य व्यवहारका पदार्थहरूको त्याग र ग्रहण गर्ने ।

देह शुद्धि या सुन्दरताको लागि परिमित प्रमाणको पञ्चगव्यको, वंश वृद्धिको लागि नियमित दूधको, सर्वपापक्षय पूर्वक सकल पुण्य फल प्राप्त हुनाको लागि एकमुक्त, नक्तव्रत, अयाचित भोजन अथवा सर्वथा उपवास गर्ने व्रत ग्रहण गर्ने ।

आजको दिन के त्याग गर्ने-मधुर स्वरको लागि गुड, दीर्घायु अथवा पुत्र-पौत्रादिको प्राप्तिका लागी तेल, शत्रुनाशादिको लागी तिलको तेल, सौभाग्यको लागि मिठो तेल, स्वर्ग प्राप्तिको लागी पुष्पादि भोग, प्रभु शयनका दिनहरूमा सबै प्रकारका मांगलिक कार्य जहाँसम्म हुनसक्छ नगर्ने । खाटमा सुत्ने, भार्यासँग मैथुन गर्नु, झूठो बोल्नु, मांस, मह र अरुले दिएको दही-भात आदिको भोजन गर्नु, मूला, पटोल एवं भण्टा आदिलाई पनि त्याग्नुपर्छ ।

प्रतिकृया दिनुहोस