जुम्लाबाट ‘प्रहरीको मृत्यु भएको’ गलत सूचना किन दियो प्रहरीले ?

Police jumla

काठमाडौं । गत बिहीबार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट त्यहाँ अनशनरत डा. गोविन्द केसीलाई बाहिर निकाल्ने क्रममा प्रहरीले माइकिङ गर्दै एकजना प्रहरी जवानको मृत्यु भएको भन्ने सूचना दियो । सोही सूचनालाई आधार बनाएर कतिपय सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण पनि गरे ।

तर, त्यो सूचना र समाचार गलत ठहर भयो । आखिर प्रहरीले नै किन यस्तो गलत सूचना सम्प्रेषण गर्यो ?

अस्पताल परिसरभित्र प्रहरीले गरेको माइकिङको अडियो र भिडियो सामाजिक सञ्जालहरूमा फैलिएको छ । 

जसमा डीएसपी तपनकुमार दाहालले माइकिङ गर्दै भनेका थिए, ‘हाम्रा एकजना प्रहरी जवानको मृत्यु भइसकेको छ। सकारण हाम्रा प्रहरी पनि मरेको हुनाले, क्याजुअल्टी भएको हुनाले हामीले पनि संयमता अपनायौं धेरैबेरसम्म । तपाईंहरू कोही आन्दोलन गर्न आउनुभएको छ भने बस्नुस् ठीक छ त्यसमा ।’

प्रहरीले माइकिङमार्फत आफ्ना सहकर्मीको मृत्यु भएको भन्ने खबरलाई आधार मानेर सञ्चार माध्यमहरूले समाचार प्रसारण गरे । बिहीबार साँझ नै प्रहरी प्रधान कार्यालयले मृत्युको तथ्यबारे प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो ।

प्रधान कार्यालयको विज्ञप्तिमा ‘समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार सम्प्रेषण गर्नेजस्तो मानवीय संवेदनाको विषयमा सूचना दिनुअघि आधिकारिक पुष्टि गर्न’ अपिल गरिएको थियो ।

आखिर प्रहरीले आफ्नै सहकर्मीको मृत्यु भएको खबर फैलाएर भीड नियन्त्रण गर्ने स्थिति किन निम्तियो? जुम्लाका डीएसपीले किन प्रहरीको मृत्यु भएको भन्दै माइकिङ गरे?

प्रहरी प्रवक्ता शैलेश थापाले भने, ‘डीएसपीले किन त्यस्तो भने र त्यस्तो अवस्था किन आयो भन्नेबारेमा आन्तरिक छानबिन सुरु भएको छ ।’

पूर्वडीआईजी नवराज ढकालका अनुसार प्रहरीले भीड नियन्त्रणका बेलामा होस् वा अन्य बेलामा गलत सूचना वा सन्देशको प्रसार गर्नु आचारसंहिताविपरीत र गैरकानुनी कुरा हो । उनले भने, ‘भीड नियन्त्रण वा अन्य कुनै नाममा पनि प्रहरीले गलत सन्देश फैलाउनु हुँदैन ।’

पूर्वडीआईजी हेमन्त मल्लले भीड नियन्त्रणका बेला आफ्नै सहकर्मीको मृत्युको खबर दिनु त्रुटिपूर्ण भएको बताए । उनका अनुसार भीड नियन्त्रणको विशिष्ट सीप नहुँदा यस्तो हुन सक्छ । उनले भने, ‘त्यस्तो सन्देशले कार्यस्थलमा खटिएका प्रहरीलाई झनै उत्तेजित बनाउन सक्छ र भीड नियन्त्रणका नाममा अत्यधिक बल प्रयोग हुने खतरा हुन्छ ।’

केसीलाई लैजान स्थानीयले अवरोध गरेपछि अस्पताल परिसरभित्रै प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रतिकृया दिनुहोस