सप्तरीको मलेठ घटना : पीडितलाईनै अन्यायमा पार्ने प्रतिवेदन आएको आरोप

Maletha

काठमाडौं । सप्तरीको मलेठ घटनाका सम्बन्धमा तयार पारेको प्रतिवेदनप्रति आपत्ति जनाउँदै सरोकारवालाहरुले राष्ट्रिय मानव अधिकार आयोगको गम्भिर ध्यानाकर्षण गराएका छन्।सरोकारवालाहरुले मानव अधिकारको दृष्टिले समेत गैरजिम्मेवार ढंगबाट प्रतिवेदन तयार पारेको भन्दै शुक्रबार ज्ञापनपत्र मार्फत् आयोगको गम्भिर ध्यानाकर्षण गराएका हुन्।

ललितपुरको हरिहर भवनमा रहेको आयोगको कार्यालयमा पुगेका उनीहरुले आयोगले सो घटनाका सम्बन्धमा तयार पारेको प्रतिवेदन संकुचित, पूर्वाग्रही र मानव अधिकारका दृष्टिले समेत गैर जिम्मेवार देखिएको दावी गर्दै पुनः स्वतन्त्र र निष्पक्ष छानवीन तत्काल गर्न पनि माग गरेका छन्।

आयोगको प्रतिवेदनले भ्रम मात्रै सृजना गरेकाले तत्काल निष्पक्ष छानवीन गरी सो घटनाको सत्यतथ्य बाहिर ल्याउन पनि सरकार र आयोगको गम्भिर ध्यानाकर्षण गराइएको अधिवक्ता रक्षाराम हरिजनले बताए।

२०७३ साल फागुन २३ गते सप्तरीको मलेठमा सुरक्षाकर्मीको गोली लागि ५ जना सर्वसाधारणको ज्यान गएको थियो। सोही घटनाका पीडितलाई न्याय नदिने गरी आयोगले प्रतिवेदन तयार पारेको सरोकारवालाहरुको गम्भिर आरोप छ।

आयोगको प्रतिवेदनले सुरक्षाकर्मीले गोली चलाएको कुरालाई समेत किटान गर्न नसकेकोमा उनीहरुको आपत्ति छ। यता, राष्ट्रिय मानव अधिकार आयोगले भने सो प्रतिवेदनलाई पुन विश्लेषण गर्ने आश्वासन दिएको छ।

आयोगका अध्यक्ष अनुपराज शर्माले ज्ञापन पत्र बुझ्दै आयोगको प्रतिवेदनमाथि गरिएको टिप्पणीको स्वागत गर्ने र त्यसको गम्भिर विश्लेषण गरेर नयाँ निष्कर्षमा पुग्ने प्रतिक्रिया दिएका हुन्। आयोगले प्रतिवेदनमाथि पुनर्विचार गर्ने र पीडितलाई न्याय दिन लागि पर्ने प्रतिवद्धता पनि जनाएको छ।

प्रतिकृया दिनुहोस