काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मा निजी कम्पनीलाई !

Fohar

काठमाडौं । अबको पाँच महिनामा काठमाडौं जिल्लाका कीर्तिपुरबाहेक सबै नगरपालिकाको फोहोर निजी क्षेत्रले उठाउन थाल्नेछ । काठमाडौं फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिन भएको आयोजना विकास सम्झौता (पिडिए) लगानी बोर्डले स्वीकृत गरेको छ ।

प्रारम्भिक हस्ताक्षर भइसकेको पिडिए मंगलबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्डको ३१औँ बैठकले स्वीकृत गरेको हो। यो आयोजनामा कीर्तिपुर नगरपालिकाको फोहोर व्यवस्थापन भने समेटिएको छैन ।

२३ फागुन ०७४ मा उक्त पिडिएमा प्रारम्भिक हस्ताक्षर भएको थियो। त्यसवेला बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले दुई महिनाभित्र अन्तिम हस्ताक्षर गर्ने गरी काम गरिरहेको बताएका थिए।

तर, प्रारम्भिक हस्ताक्षर भएको पाँच महिनापछि अन्तिम हस्ताक्षर नभई बोर्डको सञ्चालक समितिबाट पिडिए पारित भएको हो । लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले अन्तिम हस्ताक्षरका लागि दुई महिनाको समय प्राप्त भएको जानकारी दिए । सन् २००९ मा सार्वजनिक–निजी साझेदारीअन्तर्गत निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडेलमा फोहोर व्यवस्थापन गर्ने गरी प्याकेज १ अन्तर्गत नेपवेस्ट कम्पनी छनोट भएको थियो।

एकीकृत फोहोरमैला व्यवस्थापन नाम दिइएको उक्त आयोजनाअन्तर्गत काठमाडौं जिल्लाको एक महानगरपालिका र ९ नगरपालिकाको फोहोर व्यवस्थापन गरिनेछ ।

जसमा काठमाडौं महानगरपालिका, दक्षिणकाली नगरपालिका, चन्द्रगिरि नगरपालिका, नागार्जुन नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, कागेश्वरी नगरपालिका र शंकरापुर नगरपालिका रहेका छन्।
आयोजना विकास सम्झौतामा अन्तिम हस्ताक्षरपछि नेपवेस्ट कम्पनीले फोहोर व्यवस्थापनको काम थालनी गर्नेछ । लगानी बोर्डले दिएको जानकारीअनुसार अबको दुई महिनामा पिडिएमा अन्तिम हस्ताक्षर हुने र थप तीन महिना व्यवस्थापनमा खर्च हुनेछ । त्यसपछि फोहोर व्यवस्थापन निजी क्षेत्रअन्तर्गत जानेछ।

वार्षिक १५ करोड रोयल्टी र कर
सार्वजनिक–निजी साझेदारीमार्फत सञ्चालन गरिने उक्त कम्पनीले २० वर्षमा सरकारलाई रोयल्टी र करबापत तीन अर्ब रुपैयाँ बुझाउनेछ । जुन औसतमा वार्षिक १५ करोड रुपैयाँ हो । जबकि अहिले काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा वार्षिक करिब ५५ करोड रुपैयाँ खर्च गर्दै आएको छ ।

आयोजनाको कुल लागत भने पाँच अर्ब रुपैयाँ छ । कम्पनीले फोहोरमैलाबाट ४ देखि ५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्नेछ । साथै, ग्यास, प्रांगारिक मल उत्पादन गर्नेछ । उठेको सम्पूर्ण फोहोरको बढीमा २० प्रतिशत मात्रै बन्चरे डाँडास्थित ल्यान्डफिलसाइटमा विसर्जन गरिनेछ।

प्रतिकृया दिनुहोस