डा. केसीसँग भेटघाटमा लगाइयो प्रतिबन्ध, सरकार आफ्नै अडानमा

Dr kc jumla

काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग राखेर जुम्लामा अनशनरत डा. गोविन्द केसीसँग बाहिरी भेटघाट प्रतिबन्ध लगाइएको छ ।

अनशनका कारण स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि संक्रमणको खतरा औंल्याउँदै चिकित्सकले बाहिरी भेटघाट प्रतिबन्ध लगाएका हुन् ।

डा.केसीको स्वास्थ्य अवस्था बुझ्न दैनिक डेढ सय बढी शुभचिन्तक आउने गरेका छन् । चिकित्सक नारायण कँडेलले बाहिरबाट डा केसीलाई भेट्न आउनेलाई रोकेको बताए । ‘अहिले हामीले कसैलाई भेट्न दिएका छैनौँ । डा. केसी पनि चिकित्सकसँग पनि बोल्न सक्नुहुन्न ।’

कँडेलले डा. केसीको स्वास्थ्य अवस्था निकै बिग्रिएको भन्दै जति बेला पनि अकल्पनीय घटना हुन सक्ने भएकाले अत्यावश्यक सामग्री पूर्वतयारीमा राखेर उपचार गरिरहेकोसमेत बताए ।

डा.केसीले सरकारले काठमाडौंबाट पठाएको चिकित्सकको टोलीबाट उपचार लिन अस्वीकार गरेका छन् । अनशनको १६औं दिन पुग्दा समेत केसी भने आफ्ना अडानबाट पछि हटेका छैनन् ।

सरकार केसी अनशन छाडेर आउनुपर्ने र विधेयकमा व्यवस्था भएको आयोगमार्फत उनका माग सम्बोधन गर्नेमा लाग्नुपर्ने अडानमा छ भने डा. केसी सरकारले आफ्ना माग पूरा नभएसम्म मृत्युवरण गर्न तयार रहेको तर अनशन नछाड्ने अडानमा छन् ।

माथेमा आयोगको प्रतिवेदनमा भएका १० वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न नदिनेलगायत सुझाव लागू गर्नुपर्ने डा. केसीको माग छ। तर, मेडिकल कलेज खोल्न समयको बन्देज लगाउने विषय मान्न नसकिने प्रधानमन्त्रीको धारणा छ । माथेमा आयोगको प्रतिवेदनका सुझावलाई सन्दर्भका रूपमा राखेर वार्ता गर्दै चिकित्सा शिक्षा सुधारका उपाय खोज्न सरकार तयार रहेको उनले उल्लेख गरेका छन् ।

केसीको अनशन लम्बिँदै जाँदा सडकबाट पनि सरकारलाई दबाब बढेको छ । संसद्मा विपक्षी कांग्रेसलगायत दलका सांसदहरूले आवाज उठाइरहेका छन् । सडकमा नागरिक प्रदर्शनसमेत भइरहेका छन् ।

सडक र सदन दुवैबाट चिकित्सा शिक्षाका विषयमा आवाज चर्किन थालेपछि प्रधानमन्त्रीको दल नेकपाभित्र पनि केसीका मागका विषयमा आन्तरिक छलफल भइरहेको छ । तर हुबहु प्रतिवेदन लागू गर्नैपर्ने भन्ने विषय मान्न नसकिने धारणा पार्टीभित्र छ । यसअघि संसद्मा चिकित्सा शिक्षा विधेयक र डा। केसीका मागका सम्बन्धमा पेस भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा नेकपाका सांसदहरूले पनि यस्तै धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...