विकासपछि बिनास : सडक आयो खुसी ल्यायो, मुहान सुक्यो दुःख थप्यो

Pyuthan muha sukyo

प्युठान । गत वर्ष गाउँमा सडक पुग्दा ऐरावती २ कुमाल टाकुराका स्थानीय निक्कै हर्षित बने । गाउँपालिकाले चिदिबासदेखि नेपाने जोड्ने सडक निर्माण गरिदिँदा सबै दुःख हट्ला भनेर सोचेका थिए । तर, झन अहिले दुःख बढेको छ ।

स्थानीय तहको पुनर्संरचना गरिएपछि कुमाल टाकुरामा सडक पुग्यो । सडक पुगेपछि स्थानीयले खुसी पनि मनाए । तर, अहिले सोही सडक स्थानीयका लागि घाँडो भएको छ ।

न त्यो सडकमा गाडी गुडेको छ, न त सडक नै गतिलो छ । छ त केवल भेलबाढी । जताततै पहिरो र विध्वांस । त्यति मात्रै होइन, सडक पुगेपछि स्थानीयले भनेको जस्तो पानी पिउन पनि पाएका छैनन् । उनीहरुका लागि अहिले सडक पुग्नु नै दुःख बेसाउनु सरह बनेको छ ।

डाडाको टाकुरामा छ बस्ती । गाउँमा भरपर्दो मुहान छैन । एउटा भित्ते खोलाको मुहान थियो । यही मुलको पानी हुँदासम्म टोलटोलमा पानीका धारा थिए । यहाँ झण्डै ६० भन्दा बढी घरधुरी छन् । झण्डै २० वर्षअघिदेखि यही खोलाको मुहानको पानी पिउथे कुमाल गाउँका स्थानीय ।

तर अहिले खोलाको मुहान सुक्दा कुमाल टाकुराका धारामा पानी आउँदैन । पानीको मुल नै सुक्न थालेपछि कुमाल टाकुराका स्थानीय पानीका लागि दुःख झेल्न थालेको स्थानीय रुमबहादुर भैया बताउँछन् ।

सुके मुहान जति
पछिल्ला दिनमा स्थानीय बस्तीभन्दा तलको खोलामा कुवा मात्र बाँकी छ । एक घण्टा पैदल हिडेर पानी बोक्नुपर्छ । पानी अभावले गाउँमा चरम निराशा बढेको छ ।

मुल माथीबाट नेपाने पुग्ने नयाँ सडक बिस्तार गरिएको छ । यहि सडक संरचनाले खानेपानीको संकट निम्ताएको भैयाको भनाई छ ।

मल्लरानी २ चुजास्थित पधेरो र खन्नेखोला खानेपानी मुहान डोजरले पुरेपछि पानीको अभाव सुरु भएको छ । गाउपालिकाले खलंगा चुजा जोड्ने मोटरबाटो खन्दा पानीको मुल नै पुरियो ।

जिल्लाको मुख्य सडक छेउछाउका पानीका स्रोतसमेत सुक्न थालेका छन् । प्युठान भालुवाङ सडकखण्ड भएर आउजाउ गर्ने सयौं यात्रु र सवारीचालकहरुले यहि पानीले तिर्खा मेट्थे । बाह्रै महिना पानी हुने बाटो छेउका यी स्रोतहरुमा समेत पहिले जस्तो पानी आउन छोडेको छ । मुहानमाथिको पहराबाट डोजर लगाएर बाटो खनिएपछि मुहानहरु मासिन थालेका हुन् ।

अहिले बाटो छेउका सिमलचौर, पाकुरीखोला, अधेरीखोला लगायतका ठाउँमा पानीको स्रोत सुक्खाजस्तै बनेका छन् । पानीका स्रोत माथिबाट खनिएका बाटोबाट निस्केको माटो वर्षे भेलले पुरेपछि ती मुहानमा पानी कम हुन थालेको हो ।

कारक बने सडक
जिल्लामा जथाभावी खनिएका मोटरबाटोले पानीको मुल सुकेका हुन् । सडक खन्न योजना लैजानेहरुले पानीको मुहान संरक्षणमा ध्यान नदिँदा सडक आसपासका सबै मुहान सुक्न थालेका छन् ।

सडक संजाल विस्तार गर्ने नाममा जथाभावी मोटरबाटो लैजादा मुहान जोगाउने प्रयास नै गरिएको छैन । सडककै कारण पहाडमा भएका खोल्सा खोल्सी र कुवा पुरिएका छन् । अब खोलाको पानी बस्तीमा तान्ने बाहेक उपाय छैन ।

खानेपानी कार्यालयले सडक खन्दा पुराना मुहान संरक्षणलाई ध्यान दिन आग्रह पनि गर्दै आएको छ । तर, खानेपानी कार्यालयको आग्रह कसैले मान्नेवाला छैनन् । वातावरणीय प्रभाव मुल्याकन नगरी हचुवाका भरमा सडक खनिएकाले मुहान सुक्दै गएको खानेपानी डिभिजनका सब ओभरसिएर भरत केसी स्वीकार्छन् ।

पानीको जोहो गर्न सुरु
उता सरुमारानीे गाउँपालिकाका विभिन्न ५ स्थानमा रिचार्ज पोखरी निर्माण गर्ने भएको छ । खानेपानीको मुहान संरक्षण गर्न भन्दै गाउसरकारले आर्थिक वर्ष ०७५/७६ का लागि ५ लाख रुपैयाँ विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जनाए । खानेपानी डिभिजन कार्यालयका अनुसार जिल्लामा ८२ प्रतिशत जनसंख्याले खानेपानीको सहज सुविधा उपभोग गर्दै आएका छन् ।

जिल्लामा संचालित ७५ वटा क्रमागत योजनामध्ये २३ वटा लिफ्ट प्रविधिका छन् । स्थानीय सरकार र गैह्रसरकारी संस्थाले संचालन गरेका लिफ्ट योजना दर्जनौ छन् । हाल जिल्लाभर खानेपानीका ७० प्रतिशत जिविसको ४, स्थानीय तहको १ र गैह्रसरकारी संस्थाको ७ प्रतिशत योजना संचालनमा रहेको खानेपानी कार्यालयले जनाएको छ ।

मुलको संरक्षण नहुँदा झिमरुक र माडी नदीमा समेत बर्सेनि पानीको सतह घट्दै गएको छ । यसले लिफ्ट खानेपानीमा समेत समस्या निम्ताएको छ । लिफ्ट गरेको पानी डांडामा ठूलो ट्याकीमा संकलन गर्ने र टोलटोलमा धारा जडान गरी वितरण गर्ने योजनाको काम भइरहेको खानेपानी डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...