आरक्षण : अवसर एक, दुरुपयोग अनेक

Samvu rasaili

दलित शब्दले नेपालको संस्कृती र परम्पराअनुसार पानी नचल्ने वा अछूत जातहरूलाई एकताको शुत्रमा बाध्ने काम गरेको छ । त्यही एकताले नेपालको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालगायत शैक्षिक निकायमा आरक्षणको व्यवस्था गरेको छ । आरक्षणको उपयोग गरेर केही सभासद, केही सांसद, केही मन्त्री, केही निजामती कर्मचारी, केही डाक्टर, केही अधिवक्ता र इन्जिनियर आदि आदि भए ।

अवसर पाउने व्यक्तिले सबै पाए नाम, दाम, सम्मान र गुणात्मक जीवनस्तर । समुदायले पायो के त ? केही पाएन । यहाँ समुदाय भन्नाले समग्र दलित शब्दभित्र अट्ने लक्षित वर्ग पर्छन् ।

अवसर लिन म दलित हो भन्दै दलित आयोग धाउनेहरू जब अवसर लिन्छन् । किन म यो समुदायको हो भनेर गर्व गर्न सक्दैनन ? किन म यो समुदायप्रति पनि जिम्मेवार बन्नुपर्छ भन्ने कुरा भुल्छन ?

अवसरको खोजी गर्नु मानवीय स्वभाव हो । अवसरको खोजीले नै मान्छेलाई लक्ष्यसम्म पुर्याई सफल बनाउँछ । समाज र समुदायप्रति उत्तरदायी हुँदैनन ? किन त्यति ठूलो समुदायको गुनलाई सजिलै बिर्सिन्छन् ?

विगतमा पनि आफ्नो क्षमता प्रदर्शन गरेर विभिन्न निकायमा पुग्ने दलितहरू पनि थिए । तर ती हातको औलामा गन्न सकिन्थ्यो होला । उनीहरू आफ्नै क्षमताले पुगे आफ्नै लागि गरे । उनीहरूले समुदायका लागि जति गरे, त्यसको लागि उनीहरू धन्यवादको पात्र बनेका छन् ।

जो अहिले आरक्षणको सहारा लिएर त्यो स्थानसम्म पुगेका छन्, त्यसमा ५० प्रतिशत हात समुदाय वा दलित भन्ने शब्दको छ । त्यो स्थानसम्म पुर्याउन दलित शब्दले सहकार्य गरेको छ । ती व्यक्तीसँग साझेदारी गरेको छ । ती व्यक्तिसँग हातेमालो गरेको छ । असम्भवलाई सम्भव बनाइदिएको छ । अर्ध योग्यलाई योग्य बनाइदिएको छ । अर्ध सक्षमलाई पूर्ण सक्षम बनाइदिएको छ ।

यो भनेको साझेदारी वा सहकार्य होइन ? यदि हो भने सफल हुँदा त्यसको प्रतिफल दलित भन्ने शब्दले पाउने कि नपाउने ? अवश्य पाउनुपर्छ । यदि पाइँदैन भने सबैभन्दा ठूलो गद्दारी, ठूलो धोका र सबैभन्दा ठूलो वेइमानी त्यहीँ हुन्छ ।

शब्द र समुदायको खोल आढेर समुदायप्रति धोका दिनु के यो राम्रो कुरा हो ? यदि हो भने चाहिएको छैन । दलित शब्द र त्यो शब्दले आर्जेको आरक्षण । ९८ प्रतिशत जनतालाई बाटोमै छोडेर हिड्ने शब्द किन चाहियो ?

उसले पाएको मान, सम्मान र दाममा दलित शब्दको पनि हक हुनुपर्छ र समुदाय प्रत्यक्ष रूपले लाभान्वित हुनुपर्छ । यदि प्रतिफलमा अधिकार हुँदैन भने जिम्मेवारी लिन पनि आवश्यक छैन । त्यस्ता व्यक्तिले दलित भन्ने शब्द राख्नुको कुनै औचित्य छैन ।

जबर्जस्ती रूपमा यो शब्दलाई राख्न खोजियो भने व्यक्ती मोटाउने, समुदाय दुब्लाउने क्रम चलिरहन्छ । व्यक्तिले मोहर कमाई रहने र समुदाय मोहरा बनिरहने खेल चलिरहन्छ ।

यहि शब्दको प्रयोग गरेर राजनीति गर्नेहरू व्यवस्थापिकासम्म पुगे, सभासद भए, सांसद भए र विभिन्न ठाउँमा नियुक्ति पाए । जे पाउनु थियो, सबै सुविधा पाए, दलित शब्दले के पाए त ? हात्ति आयो हात्ति आयो फुस्स ।

शैक्षिक विकासका लागि सरकारले शिक्षाको विभिन्न क्षेत्रमा आरक्षणको ब्यवस्था गरिदिएको छ । त्यही व्यवस्थाको उपयोग गरेर कोही डाक्टर, कोही इन्जिनियर, कोही अधिवक्ता आदि आदि पाएका छन् । जब उनीहरूले सफल्ता पाउँछन्, दलित शब्दले पाउँछ के ? उनीहरूको दुबै हातमा लड्डु, दलित शब्दलाई के ? हात्ती आयो हात्ती आयो फुस्स ।

दलित शब्दलाई सापटी लिएर एनजिओ र आइएनजिओ चलाउनेहरू र त्यसमा जागिर खानेहरूले डलरमा तलब बुझ्ने गर्छन् । देशविदेश शयर गर्छन् र अन्तिममा राम्रो देश छानेर त्यतै भासिन्छन् । उनीहरूले सबै पाए दलित शब्दले के ? हात्ती आयो हात्ती फुस्स ।

यो आरक्षण लिने सबै जात, वर्ग, लिंग, धर्म, भुगोलका व्यक्तिहरूमाथी समर्पण छ । कुनै अमुक जाती वा वर्ग केन्द्रित छैन । आरक्षण राम्रो कुरा हो । तर, यसलाई अझ राम्रो व्यवस्थित बनाउँदै लैजानुपर्छ । आरक्षणप्रति कसैले नकारातमक प्रश्न उठाउन जरुरी छैन । व्यक्तिले लिएको सुविधा समुदायले पनि अनुभव गर्न सक्ने व्यवस्थाको सुरूवात गरौं ।

आरक्षणलाई व्यक्तीमुखी होइन, समुदायमुखी बनाउने प्रयत्न गरौं । अनि मात्रै आरक्षणको महत्व बढ्छ । नत्र आरक्षण कसैकसैका लागि खेलौना बन्छ र आरक्षण हट्न पनि सक्छ ।

(लेखक गौरव बचत तथा श्रृण सहकारी संस्थाका अध्यक्ष हुन् ।)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...