जुम्लाबाट केसीको अडियो सन्देश : सत्याग्रह तुहाउने षड्यन्त्र नहोस्

Dr.kc pradarsan

काठमाडौं । १५ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीले आफुलाई काठमाडौं लगेर आफ्नो आन्दोलन विफल बनाउन खोजेको आरोप लगाएका छन् ।

डा. केसीको समर्थनमा शनिबार गरिएको प्रदर्शनका क्रममा उनले आफ्नो सत्याग्रह तुहाउने षड्यन्त्र भएको आरोप लगाएका हुन् ।

केसीको समर्थनमा गरिएको प्रदर्शनका क्रममा डा. केसीको अडियो भाषण सुनाइएको थियो ।

जुम्लामा अनसनरत डा केसीले रेकर्ड गरेर पठाएको अडियो शनिबार माइतीघरमा भएको प्रदर्शनपछि नयाँ बानेश्वरको कोणसभामा सुनाइएको थियो ।

केसीले सो अडियो भाषणामा भनेका छन्, ‘हामीले आन्दोलन गर्दा जनतामुखी अध्यादेश बनेको थियो। त्यस अध्यादेशलाई तोडमोड गरेर माफिया, डन र नेतामुखी ऐन ल्याउन लागिएको छ। त्यसैको विरुद्धमा मैले सत्याग्रह सुरु गरेको हो ।’

यस्तो छ डा केसीको सम्बोधनको पूर्णपाठ

नमस्कार महानुभावहरु

म अहिले जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बोल्दै छु । म जुम्लामा सत्याग्रहमा छु । जुम्लामै किन गर्नुपर्‍यो सत्याग्रह भन्ने कुरामा चाहिँ, एक दशकदेखि गाउँगाउँमा स्वास्थ्य सेवा पुगोस् भनी लडिरहेका छौं । गाउँका मान्छे, निम्न, मध्यम, विपन्न वर्गले पनि योग्यता अनुसार डाक्टर, नर्स अथवा विज्ञहरु बन्न सकून्, पढ्न सकून् । त्यस्तो खालको ऐन बनोस् । जबकि ग्रामीण भेगमा बस्ने ८० प्रतिशत जनता अपहेलित र उपेक्षित छन् । त्यसकारण हुम्ला, जुम्लाभन्दा उपयुक्त स्थान अन्यत्र कहीँ हुन सक्दैन ।

जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको आठ वर्ष भयो । तर, अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । कर्णाली भेग राज्यबाट सबैभन्दा बढी उपेक्षित क्षेत्र पनि हो । यहाँका मानिस गरिब छन्, बेरोजगार छन्, अशिक्षित छन् । ठूलो मेडिकल कलेज यस क्षेत्रमा थिएन । आठ वर्ष भयो, अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । सञ्चालनमा आएको भए यहाँका मान्छे डाक्टर बन्थे । नर्स बन्थे । यहाँका मान्छेहरु स्वास्थ्य सम्बन्धी विज्ञ बन्थे । यस क्षेत्रमा स्वास्थ्य सेवा गर्थे । गुणस्तरीय स्वास्थ्य सेवा सबैले प्राप्त गर्थे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट यहाँका नागरिकले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी प्राप्त गर्थे । यस ठाउँको समग्र विकास हुने थियो । तर, अहिलेको सरकार, जसलाई दुई तिहाइ मत दिएर विजयी बनाए, उनीहरुको हकहितको विरुद्ध माफिया, डन, नेताहरु पोस्ने ऐन ल्याउँदै छ ।
हामीले आन्दोलन गर्दा जनतामुखी अध्यादेश बनेको थियो ।

त्यस अध्यादेशलाई तोडमोड गरेर माफिया, डन र नेतामुखी ऐन ल्याउन लागिएको छ । त्यसैको विरुद्धमा मैले सत्याग्रह सुरु गरेको हो । अर्को कुरा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञको कमी छ । सरकारको उदासीनताका कारण दक्ष जनशक्तिको कमी भएको हो ।

यहाँ भइरहेको टिममार्फत मेरो राम्रो हेरचाह भइरहेको छ । जबसम्म मेरो माग पूरा हुँदैन, सत्याग्रह रोकिन्न । सरकारका तर्फबाट विभिन्न बहानाबाजी गरेर मलाई यहाँबाट उठाएर काठमाडौं लगेर सत्याग्रह तुहाउने प्रयास हुँदैछ । सरकारलाई मेरो स्वास्थ्यको यति चिन्ता भएको हो भने मेरो माग तुरुन्त पूरा गर, अनसन तुरुन्त तोड्छु ।

कुरा साधारण छ । मेरो मागहरु थुप्रै छन्, त्यसमा चिकित्सा शिक्षा अध्यादेशमा कुनै पनि तोडमोड नगरीकन यथारुपमा पारित हुनुपर्छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तुरुत्त सञ्चालनमा ल्याउनुपर्छ । अख्तियारले भष्टाचारमा दोषी ठहर गरेकाहरुलाई कारबाही गर्नुपर्छ । शिक्षामा राजनीतिक भागबन्डा र हस्तक्षेप अन्त्य गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस