असार १५ : छुपुछुपु हिलोमा धान रोप्ने दिन, यस्तो छ यसको महत्व

Ropai 15

काठमाडौं । छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला
बनाई कुलो लगाई पानी आएर गोडौँला

आज असार १५ । धान दिवस पनि । समयमै मनसुन सुरु भएपछि देशभर रोपाई भइरहेको छ ।

किसानहरुका लागि असार मानो खाएर मुरी उब्जाउने समय हो । तर, शहरमा बसोबास गर्ने युवा पुस्ताले आज एक दिन रोपाई गरिएका ठाउँहरुमा गएर हिलो खेलेर रमाइलो गर्छन् ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

आज सरकारले धान दिवस पनि मनाइरहेको छ । काठमाडौंको दक्षिणकालीमा सरकारी पहलमै धान रोपेर धान दिवस मनाइँदैछ । अन्य स्थानहरमा पनि धान रोपेर यो दिवस मनाइने छ ।

भनिन्छ, असारको १५ लागेपछि बादलहरु पूर्णरुपले परिपक्क भएर पानीका धाराहरु बर्षिन्छन् । माटोहरु पानीमा रुझेर हिलोको स्वरुमा कमलो हुन्छन् । तिनै कमलो माटोमा हामीले छुपुछुपु धानका बिरुवाहरु रोपिन्छन् ।

हिलोसँग खेल्दै, पानीसँग पौँठेजोरी खोज्दै खेतका आलीमा चप्पल खोलेर खेतभित्र छुपुछुपु धान रोप्न छिरेका खेतालालाई खाजा खेतमै ल्याइदिइने चलन छ । तराईतिर यसरी खेतमा खेतालालाई लगिदिएको खाजालाई जलखाई भनिन्छ ।

दहीच्यूरा खाने दिन
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीच्यूरा खान्छन् । यसबेला दहीच्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

असार १५ लाई नेपाली समाजमा दहीच्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्यूरा खाई असार १५ मनाउँछन् ।

प्रतिकृया दिनुहोस