चिनियाँ रेलको चर्चाले पूर्व–पश्चिम रेल ओझेलमा

Railway

काठमाडौ‌ । पूर्व पश्चिम एक हजार किलोमिटर कुद्ने रेलको लगानी प्रति किलोमिटर ५० करोड हुन्छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको कुल लागत ५ खर्ब रुपैयाँ हुनेछ । यसको डिपिआर र निर्माणसमेत भइरहेको छ ।

रसुवागढी हुँदै काठमाडौं आउने रेलमार्गको लम्बाइ ७५ किलोमिटर मात्रै हो । जसको लगानी प्रतिकिमि करिब चार अर्ब हुने चिनियाँ टोलीकै प्रारम्भिक अनुमान छ । कुल लगानी तीन खर्ब नाघ्ने प्रारम्भिक अनुमान छ । तर, समृद्धिको मेरुदण्ड त्यही रेलमार्गलाई मानिएको छ ।

१६० किमि प्रतिघन्टाका दरले कुद्ने पूर्व–पश्चिम रेल चढेर बुटवलको मान्छेले नेपालगन्जमा र विराटनगरको मान्छेले वीरगन्जमा जागिर खान सक्छन् । सात घन्टामा पूर्व–पश्चिम गर्न सकिन्छ । तर, यो परियोजना ओझेलमा परेको छ ।

करिब हजार किलोमिटरको पूर्व–पश्चिम रेलमार्गअन्तर्गत मेचीदेखि बुटवलसम्मको ५ सय ३९ किलोमिटरको डिपिआर पनि तयार भइसकेको छ । यता, बर्दिबासदेखि लालबन्दीसम्मको त निर्माण नै सुरु भइसकेको छ । अझ बर्दिबासदेखि सिमरासम्मै १०८ किलोमिटर रेलमार्ग आगामी अढाइ वर्षभित्र सम्पन्न हुने रेल विभागको भनाइ छ ।

रेल्वे ट्र्याक बेड बनाउने कार्य सम्पन्न भएको र त्यहाँ अब लिक बिछ्याउने काम हुने प्रवक्ता उपाध्यायले जानकारी दिए ।

यस कामका लागि हालसम्म ३ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको जानकारी पनि विभागले दिएको छ । लालबन्दीदेखि सिमरासम्मको खण्डको सिभिल इन्जिनियरिङको कामका लागि यही आर्थिक वर्षभित्र ठेक्का सम्झौता हुनेछ । त्यसका लागि १७ अर्बसम्मको ठेक्का लगाउन पाउने सहमति अर्थ मन्त्रालयले दिइसकेको जानकारी उनले दिए।

यस्तै, सिमरा–तन्सरिया खण्डमा चितवन राष्ट्रिय निकुञ्ज पर्ने हुनाले त्यसको विकल्पस्वरूप निजगढ–हेटौँडा–भरतपुर–तन्सरिया रुटको विकल्प अध्ययन भइरहेको छ । यसअघि पूर्व–पश्चिम रेलमार्गको कुल लम्बाइ ९ सय ४५ किलोमिटर अनुमान गरिएको थियो । तर रुट परिवर्तन हुनाले लम्बाई एक हजार किलोमिटर हुँदै छ ।

बुटवलदेखि गड्डाचौकी (महाकाली) सम्मको डिपिआरसमेत आगामी दसैँसम्म सम्पन्न हुने जानकारी रेल विभागले दिएको छ । बुटवलदेखि गड्डाचौकीसम्मको करिब ४ सय ६ किलोमिटर लामो विद्युतीय रेलमार्गको डिपिआर चार प्याकेजमा बन्दै छ । चीन र दक्षिण कोरियाका कम्पनीले नेपाली कम्पनीसँगको संयुक्त उपक्रम (जेभी) मा डिपिआर निर्माण गर्दै छन्।

नेपालमा मेची–महाकाली रेलमार्गको निर्माणपछि सिंगापुरबाट मलेसिया, थाइल्यान्ड, बर्मा, बंगलादेश, भारत, नेपाल, पाकिस्तान, अफगानिस्तान, इरान, टर्की हुँदै दक्षिण युरोप जाने सबैभन्दा छोटो दूरी पर्ने जानकारी रेल विभागले दिएको छ।

यो रेलमार्ग रसुवागढी–केरुङसम्म जोडिएमा हाम्रो रेलको सञ्जाल चीन, मंगोलिया हुँदै बैकाल अमुर ट्रान्स साइबेरियन रेल्वेसँग जोडिनेछ।

जसले दक्षिण एसियाका राष्ट्रलाई उत्तर युरोप र चीनका सबै भूभाग, कोरिया जाने सबैभन्दा छोटो र रमाइलो रेल्वे हुनेछ । भारत र चीनको मध्यभागसम्मको हाल तय गरिने दूरीमा उल्लेख्य कमी आउनेछ । भारत र रसियाबीचको दूरी घट्नेछ।

प्रतिकृया दिनुहोस