दाङमा झाडापखालाको प्रकोप, दुईवटा वडाका प्रत्येक घरमा बिरामी

Jhadapakhala

काठमाडौं । दाङको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखाला नियन्त्रणमा आउन सकेको छैन । मुहानको दूषित पानीले शनिबारबाट फैलिएको प्रकोपबाट दुई वडाका प्रत्येक घरका मानिस बिरामी परेका छन् । स्थानीय स्वास्थ्यचौकीका अनुसार आइतबार साँझसम्म बिरामीको संख्या १ हजार २ सय २१ पुगेको छ। झडापखालासँगै मानिसहरुमा आतंक फैलिएको छ ।

माइलीपानी खानेपानी आयोजनाको मुहान भलको पानीले प्रदूषित भएपछि ३ र ४ वडामा झाडापखाला फैलिएको थियो। झाडापखालाबाट ३ नम्बर वडाका पातेटाकुरा, गनारी, गाहा टोल, अँधेरे, भल टोल, खत्री टोल र चिराघाट तथा ४ का एकली, कजेरी र हिरापुर गाउँ बढी प्रभावित रहेको गाउँपालिका प्रमुख कमानसिंह डाँगीले बताए।

शान्तिनगर स्वास्थ्यचौकी प्रमुख हरि पुनका अनुसार स्वास्थ्यचौकीमा बिरामीको भिड लागेको छ । दूषित पानी पिउन नछाडदा बिरामीको संख्या बढदै गएको पुनले बताए । खानेपानी आयोजनाका सबै उपभोक्ता बिरामी भएका छन् ।

पुनका अनुसार तीनवटा एम्बुलेन्सले निरन्तर बिरामी ओसारिरहेका छन् । स्थानीय बीपी कोइराला मावि र हुमाचन्द्र बोर्डिङ स्कुल दुई दिनका लागि बन्द गरिएको छ। अधिकांश महिला र बालबालिका बिरामी छन्।

खानेपानीको विकल्प नहुँदा झाडापखाला नियन्त्रणमा आउन नसकेको उनले बताए । माइलीपानी खानेपानी समितिले ८ सय ५१ घरमा पानी वितरण गरेको छ।

बिरामीको संख्या बढदै गएपछि आइतबार दिनभर विशेषज्ञ चिकित्सकसहित चार ठाउँमा स्वास्थ्य शिविर चलाइएको थियो। नेपाली सेनाको फिल्ड अस्पताल, नेपालगन्ज र १९ नं बाहिनी तुलसीपुरबाट चिकित्सकसहितको टोली शान्तिनगर पुगेर उपचारमा खटिएको छ। डा. सुमन गुरुङ, डा. सिर्जना थापा, डा. सुम्निमा राई र स्वास्थ्य प्राविधिकसहित आठ जनाको टोली उपचारमा खटिएको छ।

राप्ती अञ्चल अस्पतालबाट पनि डा. गोविन्द ढकाल र डा. महेश कर्माचार्य तथा तुलसी अस्पतालबाट डा. शरद ओली र ५ नर्ससहितको टोली उपचारमा खटिएको छ।

राप्ती उपक्षेत्रीय अस्पताल, घोराहीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जनार्दन पन्थी, डा. जितनारायण यादव, डा. छवि खडकासहित स्वास्थ्यकर्मीहरू कुमार केसी र प्रदीप पुडासैनीको टोली औषधिसहित झाडापखाला प्रभावित क्षेत्र पुगेको छ। उपचारका क्रममा औषधि अभाव हुन नदिन पर्याप्त तयारी गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले बताए।

सेनाको रिपुमर्दिनी गण, घोराहीबाट सहसेनानी नारायणबहादुर बिष्टको नेतृत्वमा ४२ जनाको टोलीले खानेपानी मुहानमा पुगेर सरसफाइ गरेको छ। खानेपानी मुहानको अवस्था अवलोकन र पानी परीक्षण गर्न जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको टोली मुहान पुगेको छ।

चारवटा मुहानमध्ये दुइटा मात्रै सुरक्षित रहेको निमित्त डिभिजन प्रमुख तिलक न्यौपानेले बताए। दुईवटा मुहानमा खोलाको पानी सिधै ट्यांकीमा जोडिएकाले प्रदूषण भएको जानकारी उनले दिए । खोलाबाट सिधै जोडिएका मुहानका पाइप तत्कालका लागि हटाइएको उनले बताए।

 

प्रतिकृया दिनुहोस