मोदीको नेपाल भ्रमण कर्नाटकको चुनाव प्रभावित पार्न : कांग्रेस आई

Modi 22

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण भारतमा पनि विवादित बनेको छ । भ्रमणबारे विपक्षी दल कांग्रेस आई र सत्तारुढ दल भाजपाबीच आरोप प्रत्यारोप चलेको छ । दक्षिण भारतीय राज्य कर्नाटकमा भइरहेको निर्वाचन प्रभावित पार्ने नियतका साथ मोदीले नेपालको धार्मिक भ्रमण गरेको भारतीय कांग्रेसले आरोप लगाएको छ ।

कांग्रेसका महासचिव तथा वरिष्ठ नेता अशोक गहलोतले मोदीको भ्रमण नेपालसँग सम्बन्ध सुधार्न भन्दा पनि कर्नाटकको चुनाव प्रभावित पार्ने नियतले गरिएको दाबी गरे । कर्नाटकका हिन्दु मतदाता प्रभावित गर्न मोदीले जनकपुर, पशुपति र मुक्तिनाथ दर्शन गरेको आरोप उनले लगाए ।राजस्थानका पूर्वमुख्यमन्त्री गहलोतले मोदीको नेपाल भ्रमणको साइत नियतवश नै कर्नाटक चुनावको समयमा पारिएको र निर्वाचन आचारसंहिताको धज्जी उडाइएको समेत बताए ।

सोही दलका प्रवक्ता टोम वडक्कनले पनि समयका हिसाबले मोदीको भ्रमणमाथि प्रश्न गर्ने प्रशस्त ठाउँ रहेको बताए । ‘भ्रमणलाई लिएर प्रश्न गर्ने प्रशस्त ठाउँ छ । यो विदेश मामिलासँग जोडिएको विषय भए पनि देशभित्र चुनावी प्रक्रिया चलिरहेका बेला भएको धार्मिक भ्रमणलाई सही मान्न सकिँदैन,’ उनले भने ।

भाजपाका प्रवक्ता नलिन एस कोहलीले भने गहलोतको आरोपको खण्डन गर्दै मुलुकको विदेश सम्बन्ध र देशभित्रको चुनावबीच कुनै सरोकार नभएको बताए । कोहलीले भने, ‘मलाई विश्वास छ, गहलोतलगायत कंग्रेसका वरिष्ठ नेताहरू यसबारे जानकार छैनन् । उनीहरूको तर्कसँग सहमत हुने हो भने भारतमा वर्षेनी नियमित रूपमा धेरैवटा चुनाव हुने गर्छन् र त्यसो हो भने हाम्रा प्रधानमन्त्रीले कहिल्यै पनि छिमेकी मुलुकको भ्रमण गर्न पाउने छैनन् ।’

मोदी भ्रमणको मितिबारे नेपालमा पनि सुरुदेखि नै आलोचना भएको थियो । भारतीय पक्षबाट एकतर्फी रूपमा मिति प्रस्ताव गरिएकोमा कूटनीतिक वृत्तमा ब्यापक असन्तुष्टि थियो ।

आफ्नो पहिलो विदेश भ्रमण भारतबाट गरेका प्रधानमन्त्री केपी ओली पनि चीन जाने तयारी गर्दै थिए । त्यसैको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन गएका थिए । तर, परराष्ट्रमन्त्री ज्ञवाली चीन भ्रमणमै रहेका बेला भारतीय विदेश मन्त्रालयले मोदी भ्रमणका लागि मिति नै किटान गरेर प्रस्ताव पठाएपछि अप्ठ्यारो परिस्थिति सिर्जना भएको थियो । काठमाडौं ओर्लेलगत्तै ज्ञवालीले मोदीको भ्रमण मितिबारे छलफल हुन बाँकी रहेको बताए पनि अन्ततस् केही सातापछि नेपाली पक्षले भारतीय प्रस्तावअनुसारै भ्रमण मितिमा सहमति जनाएको थियो ।

सन् २०१४ मा १८ औं सार्क सम्मेलनताका भएको मोदीको नेपाल भ्रमणमा पनि जनकपुर भ्रमणको योजना विवादित बनेको थियो । त्यतिबेला मोदीले जनकपुरमा सार्वजनिक सभालाई सम्बोधन गर्ने र त्यही कार्यक्रममा स्थानीय महिलालाई १० हजार थान साइकल बाँड्ने योजना सार्वजनिक भएको थियो ।

तर, उक्त कार्यक्रमबाट मोदीले नेपालको मधेसी राजनीतिप्रति आफ्नो समर्थन देखाउने र सीमावर्ती बिहारको भोट बैंक रिझाउने नियत राखेको ठम्याउँदै तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले असहमति जनाएपछि उक्त कार्यक्रम रोकिएको थियो ।

नेपालका प्रमुख तीर्थस्थलबारे भारतमा भएको विवादको असर कर्नाटक निर्वाचन परिणामले देखाउने विश्लेषकहरुको धारणा छ । १२ मे मा भएको सो निर्वाचनको परिणाम आगामी वर्ष सन् २०१९ मा भारतमा हुने लोकसभा निर्वाचनलाई असर गर्ने विश्लेषकहरुको ठहर छ ।

लामो योजनाका साथ रणनीतिक कदम चाल्ने मोदीले भारतीय राज्यहरुमा निर्वाचनको मौन अवधीका क्रममा नेपालका तीर्थस्थलको भ्रमण गर्नु ती राज्यमा रहेका बहुसंख्यक हिन्दु मतदाता रिझाउने उद्धेश्यका साथ भएको प्रष्ट छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...