भारतीय कमाण्डो नेपाल भित्र्याईएकोमा माओवादीको आपत्ति

Mao meet 1

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा आफ्नो पार्टीलाई बाइपास गरेको भन्दै असन्तुष्ट रहेको समाचार आइरहेकै बेला माओवादीले मोदीसँगै भारतीय कमाण्डो ल्याइएकोप्रति आपत्ति जनाएको छ ।

माओवादी केन्द्रका प्रवक्ता समेत रहेकी सांसद पम्फा भुसालले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मीको उपस्थितिप्रति प्रश्न उठाएकी हुन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद भुसालले मोदीको भ्रमणका क्रममा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मीको उपस्थितिले नेपाली सेनाको मानमर्दन गरेको आरोप लगाईन् । उनले भनिन्, ‘अहिले ठूलो संख्यामा भारतीय सुरक्षा कमाण्डो ल्याउने र पहिलो घेरामा उनीहरु हुनुले हाम्रो देशको सुरक्षामा प्रश्न खडा गर्न खोजेको हो कि ? नेपाली सेनाको क्षमता र भूमिका न्यूनीकरण गरेको हो कि ?’

पहिलो घेरामा भारतीय सुरक्षाकर्मी रहँदा मन्त्रीहरु नै जान नसक्ने अवस्था आएको उनले बताइन् । कुनै पनि देशको पाहुना बोलाउँदा सुरक्षा दिन नेपाल सक्षम रहेको भन्दै उनले भनिन्, पाहुनालाई सुरक्षा दिन सक्दैन भने किन बोलाउने ? कुनै पनि विदेशी पाहुनालाई सुरक्षा दिन नेपाल सक्षम रहेको बताइन् ।

भुसालले सीमा समस्या, विराटनगर फिल्ड अफिस हटाउने जस्ता मुद्दा सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले भ्रमणको तिथिमिति घोषणालगायतमा परराष्ट्र मन्त्रालय पछि परेको भन्दै असन्तुष्टि जनाइन् ।

प्रतिकृया दिनुहोस