मलेसियामा संसदीय निर्वाचन सम्पन्न, स्वतन्त्र नभएको विश्लेषण

Malayasia vote

काठमाडौं । मलेसियामा संसदीय निर्वाचन सम्पन्न भएको छ । निर्वाचन स्वतन्त्र र धाँधलीरहित भने हुन नसकेको विश्लेषकहरुले बताएका छन् ।

प्रधानमन्त्री नजिब रजकको नेतृत्वको सत्तारुढ बारिसान नेसनल(बीएन) गठबन्धनले नै चुनाव जित्ने सम्भावना बढी छ । प्रारम्भिक मत परीणाम सत्तारुढ गठबन्धन बीएनको पक्षमा देखिएको छ । तर, महाथिर मोहम्मदको नेतृत्वमा चुनाव लडेको विपक्षी पनि चुनावी नजिताप्रति आशावादी छ ।

बीएनले मलेसियामा लगातार ६१ वर्ष शासन चलाइसकेको छ र यस्तोमा विपक्षीले जितेमा त्यसलाई अभूतपूर्व मान्न सकिन्छ तर, विश्लेषकहरुले चुनाव निष्पक्ष र स्वतन्त्र नहुने चिन्ता व्यक्त गरेका छन् ।

मलेसियाको राजनीतिमा बीएन गठबन्धन र यसको मुख्य दल युनाइटेड मलाएज नेशनल अर्गनाइजेसन (युएमएनओ) हाबी छ । तर, यो शक्तिशाली गठबन्धनको लोकप्रियता पछिल्लो समयमा धेरै घटेको छ । सन् २०१३ को पछिल्लो निर्वाचनमा विपक्षी गठबन्धनले नसोचेको सफलता हात पारेका थिए । सरकार गठन गर्नको लागि आवश्यक सिट नजिते पनि उनीहरुले पपुलर भोटमा जितेका थिए ।

त्यसपछि विपक्षी नेता अनवर इब्राहिमलाई अप्राकृतिक यौन दुव्र्यवहारको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइयो । उनले आफूलाई राजनीतिक प्रतिशोधको कारणले फसाइएको दावी गरेका थिए । अहिले विपक्षीको नेता महाथिर छन् ।

देशको सबैभन्दा लामो समयसम्म सत्ता चलाएका प्रधानमन्त्री, बीएनका मुख्य नेता र नजिबका सल्लाहकार महाथिरले सन् २०१६ मा पार्टी छाडेका थिए । उनले अहिले विपक्षी गठबन्धन पाकातान हारापन (पीएन) को नेतृत्व गरिरहेका छन् ।

उनले पार्टी छोड्ने बेलामा भ्रष्टाचारलाई समर्थन गर्ने पार्टीमा उनी बस्न नसक्ने बताएका थिए ।

वर्तमान प्रधानमन्त्री नजिब आफैं पनि भ्रष्टाचार काण्डमा परेका हुन्, जसलाई वान मलेसियन डेभलपमेन्ट बहार्ड नामक स्टेट इन्भेस्टमेन्ट फन्डबाट ७०० मिलियन डलर बराबरको भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

तर, उनले सबै आरोपहरु अस्वीकार गरेका थिए । यसबारेमा विभिन्न देशले छानविन गरिरहेका छन् । प्रधानमन्त्री नजिबमाथि मलेसियन अनुसन्धानलाई प्रभावित बनाउन प्रमुख अधिकारीहरुलाई हटाएको आरोप पनि लाग्दै आएको छ ।

चुनावको केही दिनअघि चुनाव सुधार समूह बेरिस २.० ले निर्वाचन आयोगले पोस्टल भोटिङमा अनियमितता गरेको र मतदाता नामावलीबाट मरेका मानिसहरुको नाम नहटाएको आरोप लगाएको थियो ।

संसदको २२२ सदस्यको लागि हुने निर्वाचमा १३ मध्ये १२ प्रदेशसभाको सदस्य पनि छानिनेछन् । सरकार गठनका लागि ११२ सिट जिते पुग्छ ।

प्रतिकृया दिनुहोस