नेपालीलाई भारत प्रवेशमा कडाई, तेस्रो मुलुकबाट जाँदा भिसा आवश्यक

'सम्बन्ध सुधार हुँदै गएको ठानिएको वेला भारतको व्यवहार अनपेक्षित'

New nepalese passport front 768x931

काठमाडौं । भारतबाट नेपाल आउने भारतीयहरुलाई नेपालमा भिसा आवश्यक पर्दैन । नेपालबाट भारत जाँदा पनि भिसा लाग्दैन । तर भारतले तेस्रो मुलुक भएर भारत जाने नेपालीका लागि भिसा अनिवार्य गरेको छ ।

तेस्रो देशबाट नेपाल आउन वा नेपाल हुँदै भारत फर्किन भारतीय नागरिकले नेपालको भिसा लिनु पर्दैन । तर भारतले नेपाली र भूटानी नागरिकलाई कडाई गर्दै लगेको छ । चीन र पाकिस्तानबाट हवाई मार्ग भएर भारत वा भारत हुँदै स्वदेश फर्किँदा यसअघि पनि नेपाली र भूटानी नागरिकले भारतीय भिसा लिनुपर्ने व्यवस्था थियो । तर, यसबर्षदेखि मालदिभ्स, हङकङ र मकाउ थपिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिनमै नेपालको भ्रमण गर्दैछन् । राजनीतिक तहमा सम्बन्ध सुधार हुँदै गएको ठानिएको वेला भारतले अनपेक्षित व्यवहार गरेको छ ।

भारतको त्रिवेन्द्रमस्थित अध्यागमन कार्यालयले एयर इन्डियाको एयरपोर्ट म्यानेजरलाई सम्बोधन गरेर पठाएको सर्कुलरमा नेपाली र भूटानी नागरिकलाई चीन, हङकङ, मकाउ, मालदिभ्स र पाकिस्तानबाट भारत आउँदा अनिवार्य प्रवेशाज्ञा भएको सुनिश्चित हुनुपर्ने उल्लेख छ । यी देशबाट भिसा विना नेपाली वा भूटानी यात्रु ल्याएको पाइएमा भारतीय गृह मन्त्रालयले जारी गरेको ‘क्यारिअर लायविलिटी एक्ट’ अनुसार कारबाही हुने उक्त सर्कुलरमा उल्लेख छ ।

तर पछिल्लो निर्णयबारे भारतको अध्यागमन व्युरोले आधिकारिकरुपमा सूचना सार्वजनिक गरेको छैन भने नेपाललाई औपचारिक जानकारी पनि गराएको छैन । यसबारे सुनेको तर औपचारिक जानकारी नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘हामीले पनि सुनेका छौँ, तर औपचारिक जानकारी आएको छैन । हामी यसबारे बुझ्छौँ’ परराष्ट्रमन्त्रालयका प्रबक्ता भरतराज पौड्यालले नयाँ पत्रिकासँग भने ।

प्रतिकृया दिनुहोस