अस्पतालको लापर्बाही, ब्लड क्यान्सरको औषधिमा धमिरा

Medicane

चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको लापर्बाहीका कारण ब्लड क्यान्सरका लागि प्रयोग हुने औषधि राखिएको ठाउँमा धमिरा लागेको पाइएको छ ।

असुरक्षित रुपमा औषधि राख्दा महत्वपूर्ण ग्लिभेक नामको औषधिमा धमिरा लागेको हो । उक्त औषधि क्रोमिक माइलोइड ल्यूकेमिया सिएमएलका बिरामीलाई खुवाइन्छ । म्याक्स फाउण्डेसन, अमेरिकाले ब्लड क्यान्सर रोग लागेका बिरामीलाई भनेर सहयोग गर्दै आएको करीब ३०/४० प्याकेट औषधिमा धमिरा लागेको पाइएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले धमिरा लागेको स्वीकार गर्दै औषधि नै बिग्रने गरी भने धमिराले नखाएको दाबी गरे । ‘काठ भएको ठाउँमा धमिरा छ, मेन कभरलाई धमिराले खान शुरु गरेको छ, औषधिमा धमिरा छैन, हामीले निकालिसकेका छौँ ।’ डा आचार्यले भने ।

धमिरा लागेको कतिपय औषधि काम नलाग्ने अवस्थाको जस्तो देखिन्छ । ग्लिभेक १ सय एमजीको उक्त यहाँ स्टकमा ६२ प्याकेट रहेको औषधि शाखा हेर्दै आउनुभएकी स्टाफ नर्स लक्ष्मी न्यौपानेले जानकारी दिए । एउटा प्याकेटमा १ सय वटा ट्याबलेट हुन्छ । केही प्याकेटमा धमिरा लागे पनि औषधिमा नलागेको दाबी उनको छ ।

महँगो औषधि भएकाले विदेशीले सहयोगमा दिँदै आएका छन् । बिरामी प्रमाणित भएको कागजात पठाएपछि सोही कागजातको आधारमा विदेशबाट उक्त औषधि क्यान्सर अस्पताललाई आउँछ । ‘कार्टुनमा अलिकति धमिरा लागेको पाइयो, ट्याब्लेट नै चाँहि खाएको छैन,’ न्यौपानेले भने, ‘१०/१५ प्याकेटमा बाहिरपट्टि धमिरा लागेको छ, तत्कालै नबाँडौँ भनेर मात्रै छुट्याएका छौँ ।’

न्यौपानेले यो औषधि सम्बन्धी बिरामी अस्पतालमा करीब ९ सय जना भएको बताए । कतिपयले अहिले पनि औषधि खाँदै आएका छन् । यति महत्वपूर्ण औषधिलाई लापर्बाहीपूर्वक राख्दा धमिरा लागेको हो । अस्पताल प्रशासनका अनुसार बाहिरबाट आएको कार्टुनमा नै राखिएको तर होसियारी नअपनाउँदा बिरामी बचाउने औषधिमा धमिरा पसेको हो ।

क्यान्सर अस्पतालका सूचना अधिकारी गृहनारायण महतोले क्यान्सर अस्पतालमा धमिरा अलि बढी नै भएको जानकारी दिँदै बाक्लो कार्टुन भएकाले त्यसको तल्लो भागमा धमिरा लागेपनि औषधिमा असर नपरेको दाबी गरे । सो विषयमा म्याक्स फाउण्डेसनले पनि प्रश्न उठाएको अस्पताल स्रोतले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...