प्रदेश नं ७ मा ३१ हजार नागरिक स्वास्थ्य बीमामा आवद्ध

Helthqa bimaama

बैतडी । गरीब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन सरकारले शुरु गरेको स्वास्थ्य बीमा यहाँ प्रभावकारी बन्न थालेको छ ।

अहिलेसम्म बैतडीसहित प्रदेश नं ७ सुदूरपश्चिमका ३१ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् । स्वास्थ्य बीमा बोर्ड, प्रदेश नं ७ को कार्यालयका अनुसार ५ हजार ७ सय ६४ परिवारका ३१ हजार ४ सय ६८ व्यक्ति स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।

प्रदेश ७ मा बैतडी, कैलाली, अछाम र बाजुरा गरी ४ जिल्लामा उक्त कार्यक्रम लागू गरिएको छ । सबैभन्दा बढी कैलालीमा २४ हजार ९ सय ३० जनाले स्वास्थ्य बीमा गरेका छन् जसमा ४ हजार ४ सय ३८ परिवार रहेका छन् ।

यस्तै, बैतडीमा ७ सय ८० परिवारका ३ हजार ८ सय ३० जना र अछामका ५ सय ४६ परिवारका २ हजार ७ सय ८ जना यस कार्यक्रममा आबद्ध भएका छन् । बाजुरामा भने गत चैत २५ गतेमात्रै यो कार्यक्रम शुरु भएकाले विवरण आइसकेको छैन ।

स्वास्थ्य बीमा लागू भएका ४ जिल्लाको कूल जनसंख्या १२ लाख ८४ हजार ८४ छ भने २ दशमलव ५ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बीमामा आबद्ध भएको देखिन्छ ।
भौगोलिक कठिनाइ, गरिबी, निरक्षर नागरिक लगायतका चुनौती रहेपनि बीमा कार्यक्रममा नागरिकको आकर्षण देखिएको प्रदेश नं ७ का बोर्डका संयोजक जनक साउदले बताए । उनले भने, “थुप्रै चुनौतीका बीच पनि हामीले जनतालाई विश्वासमा लिन सफल भएका छौं ।”

स्वास्थ्य बीमा गरेपछि आवश्यक परेका बेला गुणस्तरीय स्वास्थ्य सेवा पाउने र उपचारका लागि ऋण खोज्न नपर्ने भएकाले यसप्रति जनताको आकर्षण बढ्दै गएको हो । स्वास्थ्य बीमाबाट यस प्रदेश १ करोड ३५ लाख ८ हजार ५ सय ०५ योगदान रकम संकलन भएको छ ।

संयोजक साउदका अनुसार कूल योगदानबाट उठेको रकममध्येबाट ५२ लाख ३४ हजार ३४ हजार ९ सय ८० सेवा प्रदायक संस्थालाई दिइएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका ४ जिल्लामा ४ सय भन्दा बढी दर्ता सहयोगी परिचालन गरिएका छन् । उनीहरुले आ–आफ्नो वडामा घरदैलोमार्फत बीमा दर्ता गरिरहेका छन् ।

बैतडीवासीले जिल्ला अस्पताल बैतडी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटन, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमेलौली, गोकुलेश्वर अस्पताल दार्चुला र उपक्षेत्रीय अस्पताल डडेल्धुराबाट सेवा लिन सक्ने छन् । कैलालीवासीले सेती अञ्चल अस्पताल, मालाखेती अस्पताल, टीकापुर अस्पताल, भजनी प्राथमिक स्वास्थ्य केन्द्र, जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र, उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्र, चौमाला प्राथमिक स्वास्थ्य केन्द्र, गेटा आँखा अस्पताल र घोडाघोडी अस्पतालबाट सेवा लिन सक्ने बोर्डले जनाएको छ ।

यसैगरी अछामवासीका लागि जिल्ला अस्पताल अछाम, बयलपाटा अस्पताल, चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्र, क्षेत्रीय अस्पताल सुर्खेत र कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा प्रदान भइरहेको छ भने बाजुरावासीले जिल्ला अस्पताल बाजुरा र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा लिन सक्ने छन् ।

सरकारले यो कार्यक्रम २०७२ चैत २५ गते कैलाली जिल्लाबाट शुरु गरेको हो । स्वास्थ्य बीमा ऐन स्वीकृत भएको ७ महिना बितिसक्दा पनि नियमावली आएको छैन । स्वास्थ्य बीमा ऐन २०७४ कात्तिक १ गते स्वीकृत भएको थियो ।

प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमामा आवद्ध हुनु पर्नेछ भनेर उक्त ऐनमा उल्लेख गरिएको छ । यस्तै, प्रचलित कानून बमोजिम राष्ट्र सेवक मानिने व्यक्ति तथा वैदेशिक रोजगारीमा जाने कामदारको परिवार स्वास्थ्य बीमामा आवद्ध हुनुपर्नेछ ।

गरीब, स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रुपमा स्वास्थ्य सेवा पाउन सकूँन् भन्न उद्देश्यले सरकारले बीमा कार्यक्रम सञ्चालन गरेको हो । ५ जनासम्मको परिवारले वार्षिकरूपमा प्रतिपरिवार २ हजार ५ सय तिर्नुपर्ने र ५ भन्दा बढी भए प्रति सदस्य ४ सय २५ का दरले थप शुल्क तिरेर एक वर्षको अवधिका लागि स्वास्थ्य बीमामा आबद्ध हुन सक्छन् ।

५ जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक ५० हजारसम्मको सेवा पाइने र ५ भन्दा बढी सदस्य भएमा जनही १० हजार तिरेर बढीमा १ लाखसम्मको सेवा पाउन सकिने व्यवस्था छ । विपन्न परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुँदा योगदान रकममा बीमा बोर्डले छुट समेत दिने गरेको छ ।

अति गरीबलाई शतप्रतिशत, मध्यम गरीबलाई ५० प्रतिशत, स्वास्थ्य स्वयंसेविकाको परिवार स्वास्थ्य बीमामा आबद्ध भए कूल योगदान रकमको २५० छुट दिइने बोर्डले जनाएको छ । हाल एक हजार १ सय १८ प्रकारका औषधिहरु स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत गरिएका छन् । यसका साथै सिटी स्क्यान, एमआरआई सुविधा पनि स्वास्थ्य बीमा कार्यक्रममा थपिएका छन् ।

कार्यक्रमबाट बीमाकर्ताले बहिरङ्ग, प्रसूति, एक्स रे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवा लगायतका ३२ किसिमका सेवा पाउन सक्छन् । सरकारले २०७५ सालभित्र देशका ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...