‘अञ्चल अस्पताल’ आफैँ बिरामी

Mahakali

भीमदत्तनगर । सिंहदरबारको अधिकार गाउँमा आएको चर्चा चलिरहँदा कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालको अवस्थामा भने सुधारको कुनै छनक देखिएको छैन ।

अस्पतालमा आउने बिरामीको उपचारभन्दा पनि रिफर गर्ने अस्पतालको उपाधि पाउन थालेको अञ्चल अस्पतालले दरबन्दी अनुसारको चिकित्सक पाएको उदाहरणसम्म छैन । पर्याप्त भौतिक संरचना भएको अस्पतालमा चिकित्सक एवं स्वास्थ्यकर्मीको अभावकै कारण यहाँबाट बिरामीले गतिलो उपचार पाउन सकेनन् ।

बेलाबखतमा हुने गरेका अस्पतालभित्रका लापरबाहीलगायतका घटनाले बिरामी पक्ष र अस्पताल प्रशासन बीचको तीक्तताले प्रचारबाजी पाउँदा अन्यत्रबाट चिकित्सक यहाँ आउनसमेत नमान्ने गरेको कार्यरत कर्मचारीको भनाइ छ ।

महाकाली अञ्चल अस्पतालका प्रवक्ता केशव अवस्थीले अस्पतालमा २८ जना चिकित्सकको दरबन्दी रहे पनि हाल १० जना मात्रै कार्यरत रहेको बताए । ‘अस्पतालले दरबन्दी अनुसारको चिकित्सक कहिल्यै पाएन’, प्रवक्ता अवस्थीले भने, ‘मन्त्रालयबाट चिकित्सक नपठाएको पनि धेरै भइसक्यो ।’

उनले चिकित्सक कञ्चनपुर सुगम जिल्ला भएका कारण आउन नचाहने गरेको बताए । ‘दुर्गम जिल्ला भएको भए चिकित्सक बस्थे होला’, उनले भने, ‘सबै पूर्वाधार र व्यवस्थापन भए पनि चिकित्सक ल्याउन सकिएन ।’

दैनिक एक सयदेखि १ सय ५० जना बिरामी सेवाका लागि अस्पताल आउने गरेका छन् । अस्पतालमा स्त्रीरोग, हाडजोर्नी र जर्नल फिजिसियन गरी तीन जना विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् ।

केही समयअघि अस्पतालमा जडान गरिएको आइसियु सेवासमेत दक्ष जनशक्तिकै कारण थला परेको छ । अस्पतालले सामाजिक सेवा इकाइबाट अति विपन्न र गरीब परिवारका सेवा लिन पाउने बिरामीलाई दिने औषधिसमेत तीन महिनादेखि पूर्ति हुन सकेको छैन ।

अस्पतालको अवस्था बुझ्न आउने धेरै स्वास्थ्यमन्त्री र सम्बन्धित निकायका उच्च तहका पदाधिकारीले अस्पतालको स्तरोन्नति गरिने आश्वासन दिने गरेको भए पनि अस्पतालले सामान्य बाहेकका सेवा अझै उपलब्ध गराउन सकिरहेको छैन ।

अस्पतालसित पूर्वाधार र उपकरण भए पनि विशेषयज्ञ चिकित्सकको अभावकै कारण अस्पतालको सेवा प्रभावकारी बन्न नसकेको भीमदत्तनगरका स्थानीयवासी मदन चन्दले बताए । स्वास्थ्य मन्त्रालयले आवश्यकताअनुसार उपकरण खरीद गर्न दिए पनि अस्पतालको सेवा विस्तार गर्न चिकित्सक दरबन्दीअनुसार बढाउनुपर्नेको चन्दको जोड छ ।

सामान्यबाहेक अन्य बिरामी सीमावर्ती भारतीय बजारका अस्पतालसँगै धनगढी, कोहलपुर, नेपालगन्जका साथै काठमाडौँसम्म उपचारका लागि धाउनुपर्ने बाध्यता हट्न सकेको छैन ।

दलीय आस्थाका आधारमा आउने अञ्चल अस्पताल विकास समितिको नेतृत्व अस्पतालको सुधारका लागि लाग्नुका साथै स्वास्थ्य मन्त्रालयमा चिकित्सक माग गर्न थालेको पनि धेरै समय भइसक्यो ।

तर अस्पतालमा आउने चिकित्सक थोरै समयमा सरुवा हुँदा पनि अस्पतालले सेवा दिन सकिरहेको छैन । अञ्चल अस्पतालले सामान्य खालका शल्यक्रिया, ज्वरो, रुघाखोकी, सामान्य चोटपटकबाहेक सघन खालको बिरामीको उपचार नगरेको दशक नाघिसक्यो ।

अस्पतालबाट वितरण हुने औषधिसमेत अभाव रहेको बताउँदै प्रवक्ता अवस्थीले औषधिका लागि माग फारम भरेर धनगढी पठाइएको जानकारी दिए । स्थानीय तहको निर्वाचनदेखि प्रतिनिधिसभाको निर्वाचनसम्म उम्मेदवार रहेका राजनीतिक दलका नेताहरुले अस्पतालको सुधार चुनावी प्रचारको एजेण्डा बनाए पनि निर्वाचनपछि नेताहरुको ध्यान त्यहाँ जान सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...