अब नबुझिने प्रेस्क्रिप्सन लेखे डाक्टरलाई कारवाही

Doctor

काठमाडौं । अधिकांश डाक्टरहरुले लेखेको प्रेस्क्रिप्सन धेरैले बुझ्दैनन् । डाक्टरको प्रेस्क्रिप्सन नबुझिंदा गलत औषधिको प्रयोगले बिरामीको ज्यानै समेत जान सक्छ ।

तर अब बिरामीको औषधि किन्न डाक्टरले लेख्ने प्रेस्क्रिप्सनमा औषधिलगायत सबै कुरा स्पष्ट बुझिने गरी लेख्नुपर्ने भएको छ । प्रेस्क्रिप्सन नबुझिएका कारण गलत औषधि सेवन गरेर बिरामी समस्यामा परे तीन महिनासम्म डाक्टर निलम्बनमा पर्नेछन् ।

नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीले सार्वजनिक सूचना जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

‘डाक्टरको कोड अफ इथिक्समा प्रेस्क्रिसन लेख्दा प्रस्ट बुझ्ने गरी लेख्नुपर्ने व्यवस्था गरिएको छ,’ मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले भने, ‘अस्पष्ट प्रेस्क्रिप्सनले गर्दा गलत औषधि सेवन गरेर उजुरी परे डाक्टर कानूनी दायरामा पर्ने सम्भावना रहन्छ ।’

काउन्सिलका अनुसार, स्वास्थ्यकर्मीले प्रेस्क्रिप्सन लेख्दा औषधिको नाम, सेवन गर्नुपर्ने मात्रा–समय तथा अवधिसमेत बुझिने भाषा र अक्षरमा छापेर वा लेखेर दिनुपर्छ । प्रेस्क्रिप्सनमा चिकित्सक वा अधिकारप्राप्त स्वास्थ्यकर्मीले आफ्नो पहिचान खुल्नेगरी नाम, थर एवं सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको नम्बरसमेत उल्लेख गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस